
वसन्त लोहनी
सँगै बसेकी प्रियतमलाई सम्झे आँखाले हेरेर
सधैँ सुनेको स्वर बोध गरे प्रेमानाद झंकृत भएर ।
प्रेम प्रकृति हो, प्रकृतिमै समाहित हुने
प्रेम प्रकृतिबाट उत्पन्न हुने,
प्रकृतिबाटै झंकृृत ।
मूर्धन्य अनुभूति, प्रियतमाको श्वास–प्रश्वासमा
दुई मिलेर सुन्दर जिन्दगानी जिउने विश्वासमा ।
विश्वासले जन्माएको आशा, आशाले चलायमान गरेको यात्रा
कति उकालो हिँडेको हामी दुईले
कति ओरालो झरेको पर फाँट पुग्न ।
बीचको अलिबाट केही हिँडेपछि फेदीसम्म देखिएको फराकिलो फाँटमा
धान झुलेको बालाको हरियाली
अझै पूरै नसुकेको धरा
बीचबाट बहेको राजकुलो तर्न लाग्दा
बार नभएको बाँसको साँघुमा चिप्लिन लाग्दा
मैले च्याप्प समात्दाको क्षण
एकैपटक दुई भाव उदाएको तिम्रो चेहरा
डराएको भावमा मिसिएको अनुराग
उदयाचलबाट पदार्पण रक्त वर्णजस्तो
साक्षात् सुरांगनाको सरह थियो ।
नागबेली बनेको त्यो लामो आली फेदीमा टुंगिएपछि
हामीले सल्लाघारीको उकालो चढ्न सुरु गरेको
बीचबीचमा पुगेसपछिको स्वाँस्वाँ फ्वाँफ्वाँ
मुखबाट बलिन्द्र धारा झरिरहेको पसिना
ठिंग उभिएर पल्याकपुलुक एक अर्कोलाई हेर्दै
रुमालले पसिना पुछेको त्यो क्षण ।
तल हेर्दा पर आफैँले तय गरेको हरियाली फाँट
त्यो भन्दा अझ पर ठूलो फाँटको एउटा सानो खोला
बिस्तारै उक्लिएको त्यो लामो उकालो
त्यसपछिको पिपल चौतारीमा सुस्ताउँदा
केही चिसो हावाले हम्किँदाको आनन्द
केही फत्ये गरेजस्तो कुराको सिलसिला ।
एक अर्कालाई प्रकृतिमा सम्मिलन भएर नियालिरहेका
चेहरामा हावाले सुकाएको पसिनाको धर्काहरू
अलि पर सानो थुम्कोको बीचमा
बांगोटिंगो दर्शनढुंगा लगाएको चुच्चोको झण्डा
त्यसैलाई हेरिरहेको हामी दुई
अनायास मनमा आयो वसन्त कति छोटो छ भनेर
लगत्तै बिउँझ्यो जिउँदो जाग्दो आशाको फुल देखेर
विश्वास प्रेमको केवल भाव होइन मधुर नाद भएर ।









Facebook Comments