
लक्ष्मण थापा
विसं १८३२ साउन ९ गते बगाले थापाकुलका पिता सानाकाजी अमरसिंह थापा र माता सत्यरूपातर्फका पाँच भाइ छोरामध्ये जेष्ठ पुत्रको रूपमा भीमसेन थापाको जन्म गोरखाको पीपलथोकमा भएको थियो । उनको पुर्खाहरूको पालादेखि नै दरबारको सेवामा लागेका, आफ्ना बाबु अमरसिंह थापा सैनिक अफिसर भएका र गोरखा दरबारको समीपमा भीमसेन थापाको घर भएकाले उनको दरबारमा हिमचिम बढ्दै गएर दरबारलाई प्रभावित बनाउन सफल भएका थिए ।
उच्च कुलीन र भारदार वंशका हुनाले १८५५ सालमा २३ वर्षकै उमेरमा उनी सरदार पदवी प्राप्त गर्न सफल भएका थिए । तत्कालीन राजनीतिक परिस्थितिका कारण डेढ वर्षका छोरा गीर्वाणयुद्ध विक्रम शाहलाई राजगद्दीमा राखेर राज्य त्याग गरी स्वामी महाराज श्री ५ रणबहादुर शाह १८५७ जेठ ८ गते काशी निर्वासन हुँदा भीमसेन थापा पनि स्वामी महाराजका साथ गएका थिए । भीमसेन थापाको दूरदर्शी र बुद्धिमत्तापूर्ण कार्यले स्वामी महाराज १८६० फागुन २१ गते स्वदेश फिर्ता भए र पुनः राजकाज चलाउन थाले । यसैबीच नेपालको हितका लागि खेलेको भूमिकाको कदरस्वरूप १८६१ जेठ ७ गते भीमसेन थापालाई काजी पदमा नियुक्त गरियो ।
रणबहादुर शाहको हत्या गरेर आफ्नो हातमा शासन लिन खोज्ने उनकै भाइ चौतरिया शेरबहादुर शाह र उनका सहयोगीलाई पन्छाएर देश र आफ्नो रक्षा गरेबापत श्री ५ गीर्वाणयुद्ध विक्रम शाहद्वारा भीमसेन थापालाई १८६३ सालमा राज्य सञ्चालनका सम्पूर्ण अधिकारहरू प्रयोग गर्न पाउने गरी मुख्तियार पद प्रदान गरिएको थियो । यसैगरी उनको कार्यकुशलता र राष्ट्रप्रतिको बफादारी एवं उत्तरदायित्वपूर्ण व्यवहारबाट प्रभावित भई श्री ५ गीर्वाणले १८६८ सालमा भीमसेन थापालाई जनरल पदवी प्रदान गरेका थिए ।
विसं १८७१/७२ मा अंग्रे्रजसँग भएको युद्धमा नेपालको हार भई नेपालले आफ्नो केही भूमि गुमाई बाध्यतावश सुगौली सन्धिजस्तो असमान सन्धिमा हस्ताक्षर गर्नुपरे तापनि भीमसेन थापाले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वलाई दृष्टिगत गरेर नै यो कार्य गर्न पुगेका थिए । सुगौली सन्धिका कारणले नै नेपालको सीमाना व्यवस्थित भई नेपाल विश्वमा आफूलाई एक सार्वभौम राष्ट्रका रूपमा अस्तित्व कायम राख्न सफल भएको छ ।
विश्वका विभिन्न भागमा प्रभुत्व बढाउँदै गइरहेको बेलायती साम्राज्यवादविरुद्ध लड्न एसियाली जनएकताको आह्वान गर्ने र एसिया भनेको एसियाकै हुनपर्छ भन्ने मान्यता राख्ने उनी निकै दूरदर्शी एवं कूटनीतिज्ञ थिए । अंग्रे्रजबाट हुन गएको राष्ट्रिय अपमानको बदला लिन भीमसेन थापाले आफ्नो कार्यकालभरि बृहत् योजनाहरू तयार गरी एसियाका विभिन्न राष्ट्रहरूबीच अन्तरसम्बन्ध स्थापित गर्नुका साथै साम्राज्यवादी शक्तिका विरुद्ध एसियाली राष्ट्रलाई एक हुन आह्वानसमेत गरेका थिए । दुर्भाग्यवश एसियाली राष्ट्रका तत्कालीन शासकहरूले सो कुरा बुझ्न नसकेका कारण एसियाका बहुसंख्यक राष्ट्रहरू साम्राज्यवादी शासकहरूको मातहतमा रहन पुगे । यसप्रकार राष्ट्रवादी दृष्टिकोणले भीमसेन थापा नेपालको मात्र होइन एसियाकै महान् व्यक्तिका रूपमा देखिन्छन् ।
विसं १८९२ आश्विन २८ गते श्री ५ राजेन्द्रबाट भीमसेन थापालाई ‘कमान्डर–इन–चिफ’जस्तो उच्च पदवी प्राप्त भयो । तर, दिवंगत भएका अधिराजकुमार श्री ५ देवेन्द्रलाई विष खुवाएको मिथ्या आरोप लगाई त्यसको झन्डै दुई वर्षपछि भीमसेन थापाको १८९४ साउन ११ मा मुख्तियारी तथा सर्वस्वहरण गरी उनीलगायत उनका नजिकका नातेदारहरू समेतको सर्वस्वहरण गरी बन्दी बनाइयो । तर, उनीमाथि लगाइएको मिथ्या आरोप प्रमाणित हुन नसकेपछि राजाले पूर्ण भारदारी सभामा भीमसेन थापाको कदर गर्दै सम्मानका साथ पहिरन र दरबारको घोडा उनलाई उपहारसमेत दिई बन्दी जीवनबाट छुटकारा दिलाई लावालस्करका साथ बिदाइ गरेका थिए । यसरी बन्दी जीवनबाट छुटकारा पाएपछि भीमसेन थापा गोरखाको बोर्लाङमा गई आफूले बनाएको घरमा बस्न थाले ।
पछि १८९५ साल माघमा विष मुद्दा ब्युँताई सोधपुछको निहुँले बोलाई पुनः बन्दी बनाइयो । भीमसेन थापाले सफाइका लागि विभिन्न प्रमाणहरू प्रस्तुत गर्दासमेत सोको सुनुवाइ भएन । उल्टो उनको प्रतिष्ठामा आँच आउने गरी विभिन्न अफवाह फैलाइयो । यसबाट उनको स्वाभिमानमा ठूलो चोट पुग्न गयो र १८९६ साउन ८ गते बन्दीगृहमा नै प्राणत्याग गर्ने प्रयास गरेको नौ दिनपछि उनले वीरगति प्राप्त गरे । यसरी नेपालको इतिहासमा एक राष्ट्रभक्त एवं स्वाभिमानी राष्ट्रसेवकउपर लगाइएको झुटो आरोपविरुद्ध सबुत प्रमाण पेस गर्दागर्दै पनि तत्कालीन सत्तासीनहरूकोे दाउपेचका कारणले कतैबाट पनि सुनुवाइ हुन नसकेपछि आफ्नो इज्जतमा लागेको दागलाई सहन नसकी प्राण नै त्याग गर्न पुगी एक युग पुरुषको अवसान हुन पुग्यो ।
यस्ता नेपालका सपुत राष्ट्रभक्तले आफ्नो कार्यकालमा थुप्रै सैनिक, कानुनी, सामाजिक, आर्थिक एवं प्रशासनिक सुधार गरेर राष्ट्रमा बलियो सैनिक, कानुनी एवं आर्थिक सुधारको जग बसालेका थिए । यिनै राष्ट्रभक्त स्वाभिमानी मुख्तियार भीमसेन थापालगायत नेपाल राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि आफ्नो जीवनको आहुति दिने वीर सपुतहरूको प्रेरणादायी जीवनका विविध पक्षहरूको अध्ययन अनुसन्धान तथा प्रचारप्रसार गर्दै चीरकालपर्यन्त नेपाली समाजलाई स्मरण गराउन संस्थागत व्यवस्था गर्ने उद्देश्य लिएर २०५३ साउन १ गते राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको स्थापना भएको हो । स्मरणीय छ, भीमसेन थापाको २२१औँ जन्मजयन्तीका अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाको स्मृतिमा राष्ट्रियस्तरको प्रतिष्ठान गठन गर्न आवश्यक छ भनी दिएको प्रेरणादायी वक्तव्यबाट प्रेरित भएर २०५३ सालमा नेपाल सरकारका पूर्वसचिव एवं निर्वाचन आयुक्त रमेशजंग थापाको अध्यक्षतामा यस प्रतिष्ठानको गठन भएको थियो । यस प्रतिष्ठानद्वारा स्थापनाकालदेखि नेपालको इतिहासबारे अध्ययन र अनुसन्धान गरी उल्लेखनीय कार्य गर्ने इतिहासकारहरू तथा देशको ऐतिहासिक सामाजिक कूटनीतिक एवं आर्थिक विकासमा सहयोग पुर्याउने व्यक्तित्वहरूलाई पनि प्रतिष्ठानले सम्मान गर्दै आएको छ ।
यस वर्ष राष्ट्रको विभिन्न महत्वपूर्ण पदहरूको जिम्मेवारी बहन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउनुको अतिरिक्त कूटनीतिक क्षेत्रमा समेत उल्लेखनीय भूमिका निर्वाह गरी नेपालको प्रतिष्ठा एवं सम्बन्धलाई अन्तरराष्ट्रिय क्षेत्रमा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएका वरिष्ठ अर्थविद् एवं कूटनीतिज्ञ डा. भेषबहादुर थापालाई साउन ९ गते राष्ट्रपतिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान एवं पुरस्कृत गरिएको छ ।
भीमसेन थापाकालीन समयमा जारी भएका शीलापत्र, ताम्रपत्र, रुक्का लालमोहर आदि ऐतिहासिक अभिलेखहरूको नेपालको इतिहासमा विशेष महत्व छ । यस्ता महत्वपूर्ण दस्ताबेजहरूको खोजी गरी प्रकाशन हुनसकेमा नीतिनिर्माता, राजनीतिज्ञ, इतिहासकार अनुसन्धाता एवं इतिहासप्रति रुचि राख्ने सर्वसाधारण व्यक्तिहरूलाई सत्यतथ्यमा आधारित इतिहासबारे जानकारी प्राप्त हुन सक्छ । यसै तथ्यलाई हृदयंगम गरी प्रतिष्ठानले राष्ट्रिय अभिलेखालय र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका अभिलेखलाई प्रकाशन गर्दै जाने नीतिअनुरूप बगाले थापा कल्याणकारी परिषद्को सहकार्यमा गत वर्ष अभिलेख संग्र्रह भाग–१ प्रकाशित गरिएको थियो भने यस वर्ष अभिलेख संग्र्रह भाग २ प्रकाशनमा ल्याइएको छ । ऐतिहासिक अभिलेखहरू उपलब्ध भएसम्म यो प्रकाशनलाई निरन्तरता दिइने नीति प्रतिष्ठानले लिएको छ ।
अन्त्यमा, भीमसेन थापाकालीन समयमा निर्माण गरिएका विभिन्न मठमन्दिर र ऐतिहासिक धरोहरहरू जीर्ण अवस्थामा रहेको पाइएको छ । सोको संरक्षण, सम्वद्र्धन एवं पुनःनिर्माणका लागि नेपाल सरकारले आवश्यक पहल गर्नेछ भन्ने अपेक्षा प्रतिष्ठानले गरेको छ ।
(लेखक राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानका महासचिव हुन्)









Facebook Comments