
प्रकाशचन्द्र खतिवडा
एक धोक्रो रहर बोकेर
सधैँझैँ
पूर्वबाट सूर्य उदाउँछ
सँगसँगै म पनि उदाउँछु
रहरको धोक्रो बिसाएर
सूर्य अस्ताउँछ जब
म पनि सँगसँगै अस्ताउँछु ।
जब रात पर्छ
त्यो युग छट्पटाएर मभित्र
उकुसमुकुस बेलुन पड्कन खोज्छ
बेलुनभित्र निसास्सिएको जिन्दगी घिसारेर
झसंग ब्युँझन्छु
आयातन खुम्चँदै फुक्दै
म टाउको उठाउन खोज्छु
मेरो टाउकोमाथि तरबार झुन्ड्याएर
मलाई निर्ममतापूर्वक दबाइए पनि
मेरो जीवनसँग साटिएको
एउटा इतिहास जुर्मुराएर उठ्न खोज्छ ।
म संयमित हुन खोज्दाखोज्दै
अनियन्त्रित हुन्छु
कोठामा पसेर ढोका थुन्छु
बन्द कोठाको प्वालबाट चिहाउँदा
सधैँझैँ
सूर्य उदाइसकेको हुन्छ
हतारमा ढोका खोलेर
स्वागतमा नमस्कार गर्छु
उफ् !
पापी बादलले सूर्य छेकिदिन्छ
हठात् मेरो मन आलोचित हुन्छ
र म सूर्यतिर हात उठाएर
जोड–जोडले चिच्याउँछु
कि तिमीले
मेरो मन सँगै उदाउनुपर्छ
मेरो मनसँगै अस्ताउनुपर्छ
जिजीविषा मरेको छैन
तिमीले बाँच्ने कला सिकाउनुपर्छ ।
आवाजहरू ठोक्किएर प्रतिध्वनित हुँदै
जब कानमा आइपुग्छ
कान चिमोटेर सुन्ने गर्छु
आउँछ /जान्छ/ फेरि आउँछ
म नहाँसौँ भन्दाभन्दै
एकतमासले हाँस्न थाल्छु
क्या हाँसेछु जोडले
पहाड प्रतिध्वनित हुनेगरी ।
हठात् कसैले बोलाएजस्तो लाग्छ
सुन्छु, आवाज परिचित हैन
तै पनि घाँटी तन्काएर सुन्छु
‘हेल्लो, ह्वाट आर यु डुइङ नाउँ ?
ह्वाट ह्यापेन्ड ?’
म झोक्किएर कराउँछु
‘हु आर यु?’
एकतमासले हाँसेर उत्तर आउँछ
‘आई एम योर्स
नेभर माइन्ड मी’
आँखा च्यातेर हेर्छु, देख्दिनँ
र पनि औपचारिकता पूरा गर्दै भन्छु
ओ ‘आई सी, आई सी
आई एम कम्पोजिङ अ पोयम
अफ द कम्पेरिजन विट्विन सन एन्ड लाइफ’
यसरी एक झोला
आयातीत शब्द थुपारेर
नयाँ प्रयोगको सुरुवात गरी
आधुनिक कवि बनेर
छाती फुलाई
सडक/सडक दौडन्छु ।
आफ्नो विज्ञापन आफैँ गरी ।
ऐया
ठेस लाग्छ
सडकभरि रगत चुहाउँदै
म खुट्टा खोच्याउँदै हिँड्छु
आँखाहरू नजुध्नु पथ्र्यो तिमीसँग
आँखाहरू जुधेर
परस्पर ठोक्किँदा
सिंगै जिन्दगी उछिट्टिएर
पुनः बेलुनभित्र पस्छ
म चियाएर हेर्छु
सूर्य अस्ताइसकेको हुन्छ
सँगसँगै म पनि अस्ताउँदै जान्छु ।
अविश्वासका प्रस्ताव बोक्नेहरूले
अविश्वासै अविश्वासका हुल बटुलेर
विनाप्रमाण
मलाई विश्वासघातीको आरोप लगाई
मेरो अस्तित्व चिमोट्न खोजिन्छ खुरुखुरु
म प्रतिवाद गर्छु
अविश्वासको हुलसँग
हुल हारेर जान्छ
म जितेर फर्कन्छु
होसियार
यहाँ मदिरामा जिन्दगी साटिँदै छ
सावधान
यहाँ भाषा खरिद–बिक्री गरिँदै छ
आफ्नो सभ्यता आफैँ गुमाएर ।
म आफैँ मुर्कुट्टोजस्तो लाग्छ
टोपी फुकालेर मुडुलै
मृत्युको बहस मच्चाइरहेछु
उफ्
चुरोटसँगै सल्कन्छन् रहरहरू
मदिरासँगै उम्लन्छन् स्वतन्त्रताहरू
स्वास्नी धितो राखेर
जुवाको खालबाट उक्सेका छन् मान्छेहरू
निर्लज्ज जिन्दगी घिसारेर ।
भ्रष्ट छन् मान्छेहरू
नैतिकता गुमाउँदै
लपलपाएर जिब्रो
कामवासनाले उत्तेजित भई
दिउँसै मैथुन क्रियाको माग राखेर
कोठीकोठी चहार्न व्यस्त छन्
एक हुल अवैध मान्छेहरू ।
सुन्दरहरैँचा–६, दुलारी, मोरङ
९८४२०७३५२५
kpchandra2023@gmail.com






Facebook Comments