वसन्त लोहनी

एउटा पूर्वप्रधानमन्त्री भन्थे –
राजाबाट हुकुम भयो भने,
म सारी लाएर हिँड्न तयार छु
समय प्रवाहमा अहिले आइपुग्दा
के सम्भव, के असम्भव ?

ad

के सम्भव थियो अमेरिका पत्ता लाग्ने ?
तर सम्भव भयो कोलम्बसको भारत पुग्ने यात्राले
बयलगाडामा अमेरिका पुग्नेसरहको गणतन्त्र
के कसरी, त्यो अर्को पाटो हो कथाको
तर आयो त यो मुलुकमा
पूर्व तय गरिएको यात्रामा हिँडाउन सके
खच्चडमा बोकाएर हिमालपारिको व्यापार,
कालान्तरदेखि चलेको यहाँ
के सम्भव, के असम्भव ?

हिमालको कठिन बाटोबाट
महिनौँ लगाएर हिमालपारि पुगेकाहरू
ती भोटमा व्यापार गर्नेहरू
काठमाडौंमा मात्र किन, त्यहाँ पनि घरजम गर्नेहरू
कैयौँपटक हिमाल वारपार गरे
तर सगरमाथाको चुचुरो पुग्ने कल्पना कसैले गरेनन्
तेन्जिङ शेर्पा पुगेपछि
बल्ल चेत आयो– अविजेय होइन रहेछ
अहिले त झन्डै पानीपँधेरोजस्तो बनेको छ
के सम्भव, के असम्भव ?

आकाशमा उडिरहेका कालो बादलले
पानी बोकेकै हुन्छ
कहाँ ठक्कर खान्छ, कुन बेला झर्छ
कसलाई के थाहा ?
यो साँढेको फल झर्नेजस्तो कुराचाहिँ होइन
तर झर्ला र खाउँला भनेर कुर्नेहरू कुरिरहेकै छन्
के सम्भव, के असम्भव

मानव तस्करीकर्ता हर्ताकर्ता हुन सक्छन्
होइन, शक्तिमा पनि महाशक्तिशाली भएकै छन्
कानुनको गुलेली खेलबाट अपराधको दुनियाँमा
अँध्यारो उज्यालोको आलोपालोबाट निस्केकाहरू
तत्कालको आवश्यकताप्रदत्त आविष्कारमा
कोही कलंकित, कोही निष्कलंक
के सम्भव, के असम्भव ?

अपराधी छुट्न सक्छन्
अपराधीबाट शासक,
अनि शासकबाट पुनः अपराधी ठहर भएका
पुनः जेलभित्र घरजम गर्न सक्छन्
होइन, जेलभित्र गरिरहेकै छन्
चरीको चुच्चोबाट दाना खानेहरू
घरीघरी शक्ति–शिखर चढिरहेका
यसरी जहाँ अपराधी शासक बन्न सक्छन्, त्यहाँ –
के सम्भव, के असम्भव ?