
काठमाडौं । महाधिवेशनअघि पोखरामा सम्पन्न विधान अधिवेशनबाट पार्टीको नाम परिवर्तन गरेर नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राख्ने निर्णय गरेको नेसपा (नयाँ शक्ति)को प्रथम महाधिवेशनमा नेतृत्व तेस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रस्ताव गरेका संयोजक डा. बाबुराम भट्टराई अन्ततः निर्वाचनबाट आफैँ अध्यक्षमा दोहोरिएका छन् ।
प्रथम महाधिवेशनमा क्रममा भट्टराईले आफू नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गरेर वैचारिक नेताको भूमिकामा बस्न चाहेको बताएका थिए । तर पूर्वविद्यार्थी नेता नेत्र चापागाईंसँग अध्यक्षमा प्रतिस्पर्धा गरेर उनी पार्टीको अध्यक्ष चुनिएका हुन् । भट्टराईले ७६१ मत पाएर विजयी हुँदा चापागाईंले ७३ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्षमा खस आर्यतर्फ ईश्वर रिजाल, महिलातर्फ मानुषी यमी भट्टराई, दलिततर्फ दुर्गा सोब, आधिवासी जनजातीतर्फ टेकबहादुर बाँठा मगर र मधेशीतर्फ उमेश साह निर्वाचित भएका छन् । यस्तै महासचिवमा सोनाम सिंह स्याङ्तान, सचिव खुल्लामा लक्ष्मण कार्की (सन्देश), भरत दाहाल, सचिव महिलातर्फ आशाकुमारी तामाङ निर्वाचित भएका छन् । कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन् ।
महाधिवेशनले पारित गरेको भट्टराईको ३२ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा भट्टराईले नयाँ शक्तिहरूबीच एकता र सहकार्यको प्रस्ताव गरेका छन् । भट्टराईले नेपालका दलबारे टिप्पणी गर्दै नेपाली कांग्रेसमा नयाँपन नरहेको बताएका छन् । उदारवादी लोकतान्त्रिक धार भन्ने शीर्षकमा व्याख्या गर्दै ‘प्रजातान्त्रिक समाजवादको कुरा गरेर २००७ सालदेखि लोकतान्त्रिक आन्दोलनसँग जोडिएको र विभिन्न राजनीतिक प्रवृत्तिका व्यक्ति र समुदायहरू पनि जोडिंदै आएकाले यसको देशभर उल्लेख्य आधार छ’ प्रतिवेदनमा भनेका छन, ‘परन्तु यसले बीपी कोइरालाको समययता वैचारिक, राजनीतिक, कार्यक्रमिक ढंगले खासै प्रगति र नयाँपन प्रदर्शन गर्न सकेको छैन ।’ कांग्रेसबाट नयाँ कार्यभार पूरा हुन नसक्ने उनको निष्कर्ष छ । यस्तै प्रतिवेदनमा उनले एमाले र माओवादीलाई कुनै तात्विक अन्तर नभएको पार्टी भनेका छन् । ‘बलिदानीपूर्ण जनयुद्धको जगमा बनेको माकेको मूल नेतृत्व झन तीव्र गतिमा भ्रष्टाचार, अनियमितता, शक्ति केन्द्रहरूको दलाली र वर्ग उत्थानीकरणको दलदलमा फसेकोले एमाले र माकेबीच कुनै तात्विक अन्तर छैन’, भट्टराईले लेखेका छन् ।
भट्टराईले राप्रपाको उपस्थिति स्वाभाविक रहेको निष्कर्ष निकाल्दै ‘२१औँ शताब्दीको चेतना बोकेका अत्यधिक नेपालीहरू जतिसुकै समस्या आइपरे पनि अँध्यारो युगतिर होइन, उज्यालो युगतिर नै उन्मुख हुनेछन् भनेर हामीले विश्वास गर्नुपर्छ’ भनेका छन् । उनले आफ्नो प्रतिवेदन मार्फत जातीय र क्षेत्रीय शक्तिहरूलाई स्थिर शक्ति मानेका छैनन् । ‘बहुजातीय बहुभाषिक र क्षेत्रीय विविधतायुक्त नेपालमा भर्खरै राज्यको संघीय ढाँचामा पुनर्संरचना भएकाले विभिन्न नाममा जातीय÷क्षेत्रीय पहिचानवादी पार्टीहरू जन्मने र बिलाउने भइरहेका छन्’ ‘अतः कालान्तरमा जातीय÷क्षेत्रीय दलहरू एकाकार हुने वा बिलाउँदै जाने अनुमान गर्न सकिन्छ ।’ उनको प्रतिवेदनमा भनिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि एकपछि अर्को नयाँ र वैकल्पिक शक्तिहरू आउनुलाई भट्टराईले सकारात्मक मानेका छन् । ‘सर्वप्रथम २०७२ सालमा संविधान जारी भएपश्चात् ‘नयाँ शक्ति अभियान’ सुरु भएको थियो, जुन अहिले नेसपा (नयाँ शक्ति) को रूपमा रहेको छ’ उनले लेखेका छन्, ‘ त्यसपछिका चरणहरूमा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत उदाएका छन् । साथै स्थानीय तहहरूमा विभिन्न स्वतन्त्र व्यक्तिहरू अघि आएका छन् ।’ नयाँ भनेर आएकाहरूमा अझै थुप्रै पाटामा स्पष्ट हुन बाँकी रहेको भट्टराईको निष्कर्ष छ ।









Facebook Comments