खेमकुमार दहाल

सन् १९९६ मा सुरु भएको माओवादी द्वन्द्वले नेपाली समाजमा गहिरो परिवर्तन ल्यायो । पहाडी गाउँहरूमा यसको प्रभाव विशेष रूपमा देखियो । एक समय जीवनको रमझमले भरिएका ती गाउँहरू अहिले सुनसान छन् । घरहरू खाली खाली छन्, बारीहरू बाँझा छन् । सधँै चहलपहल भएको गाउँमा अब सन्नाटा छ । परिवारहरू विस्थापित भए, कतिपयले सहर र देशबाहिर बसाइ सारे ।

ad

कृषिमा संलग्न युवाहरूले वैदेशिक रोजगारीलाई प्राथमिकता दिए । परम्परागत ज्ञान र सीपको हस्तान्तरण अवरुद्ध भयो । विवाह, जन्म— यी जीवनका महत्वपूर्ण पर्खालहरू अब गाउँहरूमा निराशाजनक रूपमा मनाइन्छन् । अन्त्येष्टि गर्न मानिसको नै अभाव हुन थालेको छ । विवाहमा भाग लिन टाढा–टाढाबाट आउनुपर्ने बाध्यता भइसकेको छ । जन्मदिनको खुसियाली पनि बुढाबुढीले मात्र मनाउने अवस्था छ । गाउँले सामाजिक समर्थन र प्रणाली गुमाएको छ । पहिलेको आत्मनिर्भर घरेलु अर्थतन्त्र हरायो । गाउँका मानिसहरूले खानेकुरा पनि सहरबाट मगाउन थाले । चामल, नुन, तेलजस्ता वस्तु अब स्थानीय उत्पादनभित्र हुन छाड्यो । पाकशैली परिवर्तन भयो— पिठो, ढिँडो, सागको स्थान फास्टफुडले लियो । आयातीत सामग्रीले स्वास्थ्य र संस्कृतिमा असर पुर्‍यायो । सांस्कृतिक विविधताको ह्रास हुँदै गएको छ । प्रविधिको पहुँच छ, तर विकासको न्याय छैन ।

यो अनुभूति मैले मेरो जन्मथलो फाक्चामाराको अक्टोबर २०२४को यात्राका क्रममा महसुस गरेको हुँ । अक्टोबरको चिसो हावासँगै म मेरो जन्मथलो फाक्चामारा फर्किएँ । यो मेरा बुबा बित्नु भएपछिको मेरो पहिलो भ्रमण थियो । त्यो गाउँ जहाँ कहिल्यै शिशिरले हाँस्न भ्याउँदैनथ्यो, जहाँ बेलुकाको हिँडडुलमा जीवन नाच्थ्यो, तर यो यात्रा रमाइलोभन्दा बढी मलाई एक आत्मस्पर्शी आघात बन्यो । गाउँ छिर्दा झट्ट लाग्यो— यो ठाउँ त कहिले मानिसको थियो र ? हरिएको हाँसो, बन्द भएको घर, बाँझा खेतबारी । म त्यहाँ थिएँ, तर कोही थिएन । धुलोले ढाकिएको छाना, चर्पीको ढोकामा झार र घरका कोठाहरूमा जीवनको झझल्को मात्र हुनुका साथै बाँकी पुराना काठका दराज, विनास्पर्श बिछ्याइएका ओछ्यानहरू देखिन्थे ।
एउटा गाई कराउँदै हिँडिरहेको थियो, लाग्थ्यो उसैले गाउँको मौनता भंग गर्न चिच्याइरहेको छ । गाउँले मलाई बोलायो र भन्यो, ‘तिमी फर्कियौ, तर म सकिएको छु ।’

मेरो बाल्यकालमा जहाँ जन्म, विवाह, र मृत्युले गाउँलाई एकसाथ ल्याउँथ्यो । अब ती रीतिहरू एकल बनिसकेका रहेछन् । न मानिसको साथ छ, न सम्प्रेषणको ऊर्जा । मृत्युपछि घाटमा जाँदा चारजना मान्छे जुट्नै मुस्किल हुन थालेछ । विवाहको खबर आउँछ, तर न कोही आउँछन्, न कोही बोल्छन् । नवजात शिशुलाई अँगालो हाल्ने हजुरबुबा छन्, तर टीका लगाउने आफन्तहरू कहाँ छन् ? गाउँमा जीवनका चरणहरू छन्, तर भावनाविहीन ।

अब गाउँमा पाक्ने खाद्य सुगन्ध फास्टफुडको प्लास्टिकमा बन्द छ । कोदो फापरको ठाउँ चाउचाउले लिइसकेछ । खेतबारी बाँझा, तर कोठामा भारतमा उत्पादित डब्बाबन्द चामल । सागको स्वाद बिर्सिने पुस्ता जन्मिँदै रछ । ढिँडो, भुटेका मकै, सेलरोटी अब ‘पुराना कथा’ बनेका छन् । खाध्य आत्मनिर्भरता गुमेको रहेछ, परजीवी जीवन सुरु भएको रहेछ । फाक्चामारा अब स्वादमा सहर बनेको रहेछ, आत्मामा होइन ।

गाउँमा मोबाइल सबैको हातमा छ तर साथमा कोही छैन । जहाँ ट्र्‍याक छ, त्यहाँ पहाड चिरेको छ । बारीका गह्रा भद्रगोल पारिएको छ । अस्थायी सडकले माटोको कटान बढाएको छ । बग्ने माटोले खेतमात्र होइन, सपना पनि बगाएको छ । गाउँको आत्मा हराएछ, प्रविधि मात्र बाँकी ।

अर्थशास्त्री
हाल क्यानडा