
जलवायु परिवर्तनको प्रभाव, अनपेक्षित भारी वर्षाका कारण र छिमेकी मुलुक चीनसँग जोडिएको तिब्बतमा रहेका दर्जनौँ हिमताल फुट्दा नेपालमा बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ, त्यसको ताजा उदाहरणको रूपमा हालसालै विनावर्षा रसुवा र केरुङको सिमाना भएर बग्ने भोटेकोशीले पुर्याएको ठूलो क्षतिलाई लिन सकिन्छ । विनावर्षा हुने यस्तो प्रकोपबाट बच्न स्वयं सचेत हुनु जरुरी देखिन्छ । हुन त सरकारले मनसुन सुरु हुनुअगावै विपद् व्यवस्थापनका लागि विभिन्न सुरक्षा निकायको समन्वयमा तयारी गरेको थियो । तर, विनावर्षा आएको लेदोसहितको बाढीले पुर्याएको क्षतिलाई भने पूर्वअनुमान गर्न सकिने देखिँदैन । त्यसैले वर्षाका कारण हुने बाढी–पहिरोबाट बच्न स्वयं नदी किनारमा बसोवास गर्ने मानिसहरू आफैँ सचेत हुनुपर्ने पनि देखिन्छ ।
जलवायु परिवर्तनको असरले पछिल्लोपटक तापक्रम बढ्दै जानुका साथै अनियमित र भारी वर्षाले नेपाल प्राकृतिक प्रकोपहरूको उच्च जोखिममा पनि छ । प्राकृतिक प्रकोपले मानव जीवन, सम्पत्ति, पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्यमा असर पार्दछ नै । यस्ता प्रकोपबाट जोगिनका लागि समयमा नै तयारी गरे क्षति कम गर्न सकिन्छ । यस वर्ष विगतमा भन्दा बढी मनसुन सक्रिय हुन अनुमान गरिएकाले सोहीअनुसार तयारीमा लाग्नुपर्ने देखिन्छ ।
नेपाल–चीन सीमामा अवस्थित रसुवा जिल्लामा ल्हेन्देखोलामा गत मंगलबार बिहानीपख अकस्मात् आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । अझै पनि धेरै मानिसहरू बेपत्ता छन् । दुई देश जोड्ने मितेरीपुल बगाएको छ भने रसुवाको स्याफ्रुबेँसीदेखि रसुवागढी नाकासम्मको बाटो पनि बन्द भएको छ । देशकै ऊर्जा सुरक्षामा गम्भीर असर पुर्याएको छ । बाढीले रसुवागढी भन्सार कार्यालय आसपासमा रहेका मालवाहक कन्टेनरहरू र अन्य गाडीहरू बगाएको छ । बाढीले मितेरी पुल बगाएपछि वार्षिक अर्बौंको कारोबार हुने नाका अवरुद्ध भएको छ । मितेरीपुलसम्म पुग्ने सडकहरू पनि बगाएका कारण मानिसहरू अलपत्र परेका छन्, जनजीवन प्रभावित छ । रसुवागढीको बाढी केवल एउटा घटना मात्र होइन, यो हामी सबैका लागि पाठ पनि हो । रसुवागढी क्षेत्रमा आएको बाढीले फेरि एकपटक हामीलाई प्राकृतिक विपद्प्रति सचेत र तयार रहनुपर्ने सन्देश पनि दिएको छ ।
देशभरि मनसुन सक्रिय हुँदा बाढीपहिरोले राजमार्गहरूमा क्षति पुगेको छ, केही राजमार्गका ठाउँठाउँमा आवतजावत नै बन्द छ ।नदी किनारमा रहेका बजार, सडक, विद्युत् आयोजना, पुललगायत भौतिक संरचना र त्यहाँ बसोवास गर्ने मानिस सधैँ उच्च जोखिममा छन् । सरकारले सम्भावित प्राकृतिक प्रकोपबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न आवश्यक संरचना, पूर्वतयारी, उद्धार तथा राहतको व्यवस्थापनमा विशेष ध्यान दिनुपर्छ । प्राकृतिक प्रकोप जोखिम न्यूनीकरणका लागि सरोकारवाला निकायहरूसँगको समन्वयमा आवश्यक प्रविधि र उपकरणहरूको समुचित प्रबन्ध गर्दै विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनु आवश्यक छ ।
प्राकृतिक घटनाहरूलाई विपद् बनाउने मुख्य कारण भनेको मानवको लापरबाही, पूर्वतयारीको अभाव, अवैज्ञानिक विकास र कमजोर पूर्वसूचना प्रणाली पनि हो । मौसम विज्ञान र भूगर्भविद्को सहकार्यमा पहाडी र हिमाली क्षेत्रहरूमा उच्च प्रविधियुक्त पूर्वसूचना प्रणाली जडान गर्नु पनि जरुरी देखिएको छ ।
नेपालको संविधानले विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखेको छ । संविधानले संघ, प्रदेश र स्थानीय तीनवटै तहको सरकारलाई विपद् व्यवस्थापनमा जिम्मेवार पनि बनाएको छ । विपद् व्यवस्थापनका गतिविधिहरूलाई समन्वयात्मक र प्रभावकारी रूपमा व्यवस्थापन गरी प्राकृतिक तथा गैरप्राकृतिक विपद्बाट सर्वसाधारणको जिउज्यान र सम्पतिको संरक्षण गर्न दैवी उद्धार ऐन, २०३९ लाई प्रतिस्थापन गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ कार्यान्वयनमा छ । यो ऐनले विपद् व्यवस्थापनको समग्र चक्रलाई समेटी संघ, प्रदेश र स्थानीय तहको विपद् व्यवस्थापनसम्बन्धी भूमिका र जिम्मेवारीहरू स्पष्ट गरेको छ । यद्यपि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको क्षेत्रमा आपेक्षित सफलता हासिल हुन सकेको छैन ।
कमजोर भौगोलिक बनोटका परिणामस्वरूप मनसुनमा हुने भारी वर्षाका कारण पहिरो तथा जलवायजुन्य विपद्हरू बढ्दो छ । विश्वव्यापी रूपमा बढ्दो हरितगृह ग्यासको उत्सर्जनबाट तापक्रम बढ्दा हिमाली क्षेत्रमा हिउँ पग्लिने दरमा उच्च वृद्धि भएकाले हिमतालहरूको तीव्र रूपमा विकास भएको पाइन्छ । बढ्दो तापक्रमसँगै हिउँ पग्लेर तालको क्षेत्रफल एवं पानीको मात्रामा पनि बढ्दा केही हिमतालहरू फुट्ने खतरा रहेको भूगर्भविद्हरू बताउँछन् । विश्वमा नै जलजन्य प्रकोपमा ३०औँ र बहुप्रकोपीय जोखिममा २०औँ स्थानमा पर्ने नेपालमा वर्षभरिको झन्डै ८० प्रतिशत वर्षा असारदेखि असोज महिनाभित्र पर्ने भएकाले नेपालका झन्डै ६ हजार नदीनाला तथा खोलामा पानीको सतह र बहाव ह्वात्तै बढ्न पुग्छन् । जसले पहाडी क्षेत्रमा बाढीपहिरो, तराई क्षेत्रमा बाढी, डुबान, जमिन कटानलगायत समस्या ल्याउने गरेको छ । अझै दुई महिना वर्षात् र बाढी आउने सम्भावना रहेको छ ।
स्थानीय बासिन्दालाई विपद् सामना गर्न आवश्यक ज्ञान, तालिम र साधन दिनुपर्छ । केवल सरकारमात्रै होइन, नागरिकहरूले पनि आफ्नो क्षेत्रको जोखिम बुझ्न, सचेत रहन र आवश्यक तयारी गर्नुपर्छ ।









Facebook Comments