काठमाडौं । देशका विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित हुँदा उपभोक्ता समस्यामा पर्न थालेका छन्। ग्यास खरिदका लागि उपभोक्ताहरू सप्लायर्स तथा डिपोमा लाइन बस्न बाध्य भएका छन्।

एक सिलिन्डर ग्यास पाउन पनि उपभोक्ताले हप्तासम्म कुर्नुपर्ने अवस्था आएको गुनासो गरेका छन्। मागअनुसार सहज आपूर्ति हुन नसक्दा बजारमा ग्यासको अभाव देखिएको हो।

ad

नेपाल आयल निगमले फागुनको अन्तिम सातादेखि आधा सिलिन्डर ग्यास वितरण गर्दै आएको थियो। असारको अन्तिमदेखि भने पूर्ण सिलिन्डर वितरण सुरु भएपछि उपभोक्ताबाट माग बढेको र त्यसको असर बजारमा परेको व्यवसायीहरूको भनाइ छ।

साउनको पहिलो सातादेखि नै कतिपय स्थानमा ग्यास पाउन कठिन भएको उपभोक्ताले बताएका छन्। विशेषगरी काठमाडौं उपत्यकाका ग्यास बिक्री केन्द्रहरूमा उपभोक्ताको भीड बढेको छ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल ग्यासको बिक्री केन्द्रमा पनि ग्यास लिन सेवाग्राहीको लामो लाइन देखिएको छ।

यता, बजारमा उपभोक्ताले अभावको सामना गरिरहे पनि नेपाल आयल निगमले भने ग्यासको आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै आएको छ। निगमले नियमित रूपमा ग्यास आयात र वितरण भइरहेको जनाएको छ।