काठमाडौं । नेपाल पत्रकार महासंघले पछिल्लो संवेदनशील परिस्थितिमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षलाई आग्रह गरेको छ।

महासंघका कार्यवाहक अध्यक्ष दीपक आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत समाजमा आपसी विश्वास र सद्भाव कायम राख्न अपिल गरेका हुन्। उनले तनावपूर्ण अवस्थामा सञ्चारमाध्यम र पत्रकारको भूमिका अझ जिम्मेवार र संवेदनशील हुनुपर्नेमा जोड दिएका छन्।

ad

महासंघले पत्रकार, सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई पत्रकारिताका स्थापित मूल्य, मान्यता र आचारसंहिताको पूर्ण पालना गर्दै व्यावसायिक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेको छ।

समाचार संकलन, सम्पादन र सम्प्रेषणका क्रममा पत्रकार तथा सञ्चारमाध्यमलाई कुनै पनि प्रकारको दबाब, अवरोध वा हस्तक्षेपबिना स्वतन्त्र र सुरक्षित वातावरण उपलब्ध गराउन सरकार तथा सम्बन्धित पक्षसँग महासंघले माग गरेको छ।

महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै पनि किसिमको अंकुश लगाउने प्रयास नगर्नसमेत आग्रह गरेको छ।

विज्ञप्तिमा सरकारले पछिल्ला घटनाको निष्पक्ष, स्वतन्त्र र प्रभावकारी अनुसन्धान गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्नुपर्ने उल्लेख गरिएको छ। साथै, पीडित परिवारलाई उचित राहत, क्षतिपूर्ति र न्याय उपलब्ध गराउन तथा नागरिकको जीवन, सम्पत्ति र संवैधानिक अधिकारको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

कार्यवाहक अध्यक्ष आचार्यले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सामुदायिक विश्वासलाई थप मजबुत बनाउन संवाद, समन्वय र विश्वास निर्माणका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षलाई आग्रह गरेका छन्।

महासंघले सुनसरीलगायत विभिन्न जिल्लामा भएका प्रदर्शन र झडपका क्रममा तीन जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनप्रति समवेदना प्रकट गरेको छ।