काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले सुनसरीमा भएको घटनाप्रति सरकार गम्भीर र संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन, सामाजिक सद्भावको संरक्षण तथा स्थानीयस्तरमै शान्ति कायम गर्ने संयन्त्र सक्रिय बनाउन सरकारसँग माग गरेका छन्।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकको प्रादेशिक सरोकार समयको छलफलमा बोल्दै सांसद वासुदेव घिमिरेले सुनसरी घटनापछि उत्पन्न असहज अवस्थालाई संवाद र सहकार्यका माध्यमबाट सामान्य बनाउनुपर्ने बताए। उनले सामाजिक सद्भाव कायम राख्दै कोइलाबास नाकाको व्यवस्थापन प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।

ad

सांसद विष्णुबहादुर विश्वकर्माले मुलुकमा बढ्दो निराशा र असन्तुष्टिलाई सम्बोधन गर्न सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा राखे। उनले सहकार्य र समन्वयमार्फत समस्या समाधान गर्ने वातावरण बनाउन आग्रह गरे।

सांसद सोमनाथ पोर्तेलले सुनसरी घटनाको दीर्घकालीन समाधानका लागि वडास्तरसम्म शान्ति समिति गठन गर्नुपर्ने र घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष छानबिन समिति बनाउनुपर्ने सुझाव दिए।

यस्तै, सांसद चन्द्रबहादुर केसीले कर्मचारीतन्त्रसँग प्रभावकारी समन्वयबिना सरकारको काम प्रभावकारी हुन नसक्ने उल्लेख गर्दै प्रशासनसँग सहकार्य बढाउन सरकारलाई सुझाव दिए।

सांसद गोमादेवी तिमिल्सिनाले प्रदेश सरकारको कार्यसम्पादनलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ ध्यान दिनुपर्ने बताइन्।

बैठकमा सांसद रञ्जित कर्ण र सांसद मोहम्मद खालिदले सुनसरीसँगै सिरहामा भएका घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कानुनअनुसार कारबाही गर्न सरकारसँग माग गरेका छन्।