
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई राष्ट्रिय एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्।
बिहीबार जारी गरेको सन्देशमार्फत उनले सुनसरीका केही क्षेत्रमा देखिएको द्वन्द्व र त्यसको प्रभाव अन्य स्थानमा फैलिएकोप्रति चिन्ता व्यक्त गर्दै समाजमा शान्ति, आपसी विश्वास र सहअस्तित्वको भावना बलियो बनाउन सबै पक्षलाई आग्रह गरेका हुन्।
उनले नेपालको धार्मिक, सांस्कृतिक र सामाजिक विविधताले विश्वमा देशको विशिष्ट पहिचान स्थापित गरेको उल्लेख गर्दै त्यसमा कुनै पनि प्रकारको खलल पुग्न नदिन सबै जिम्मेवार बन्नुपर्ने बताएका छन्। सामाजिक एकता र सहिष्णुताको परम्परालाई जोगाउनु नै वर्तमान समयको आवश्यकता रहेको उनको भनाइ छ।
पूर्वराजा शाहले केही दिनअघि सुनसरीका गाउँबस्तीमा भएको विवादका कारण जनधनको क्षति भएको र त्यसको असर कोशी क्षेत्र तथा तराईका अन्य जिल्लासम्म पुगेको उल्लेख गर्दै यस्तो अवस्था देशको मौलिक मूल्य र सामाजिक संस्कृतिसँग मेल नखाने बताएका छन्।
सन्देशमा उनले नेपाललाई सबै समुदायबीच मेलमिलाप र सहकार्यको उदाहरणका रूपमा कायम राख्नुपर्ने उल्लेख गर्दै देशका जुनसुकै भूभागमा रहेका नेपालीलाई एकताबद्ध भई सामाजिक सद्भाव र शान्ति कायम राख्न आग्रह गरेका छन्। साथै, वर्तमान परिस्थितिमा संयम, संवाद र पारस्परिक सम्मानलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्।









Facebook Comments