काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्को सिफारिसअनुसार प्रमुख निर्वाचन आयुक्त र दुई जना निर्वाचन आयुक्त नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २४५ को उपधारा (२) बमोजिम मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरिएको हो।

ad

यस्तै, गुरुप्रसाद वाग्ले र डा. राजीव सुव्बालाई निर्वाचन आयुक्तको जिम्मेवारी प्रदान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिएका छन्।

यसअघि प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक सुनुवाइ समितिले बुधबार बसेको बैठकबाट तीनै जनाको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो। संवैधानिक परिषद्को सिफारिस र संसदीय सुनुवाइ प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट उनीहरूको औपचारिक नियुक्ति गरिएको हो।