
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरी र सिरहामा भएका हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ओलीले सुनसरीको देवानगञ्ज र सिरहामा भएको घटनाका क्रममा राज्य पक्षबाट बल प्रयोग भएको उल्लेख गर्दै त्यसबाट स्थानीय युवा ओमप्रकाश मेहता, गणेश यादवलगायत नागरिकको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
ओलीले नागरिकको जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नु सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै समस्याको समाधान संवाद र सहमतिमार्फत खोजिनुपर्ने बताएका छन्। उनले अत्यधिक बल प्रयोगप्रति असन्तुष्टि जनाउँदै हिंसात्मक गतिविधि तत्काल रोक्न र वार्ताको माध्यमबाट निकास खोज्न सरकारसँग आग्रह गरेका छन्।
उनले संवेदनशील परिस्थितिमा अफवाह र भ्रामक प्रचारबाट सचेत रहन सबै नागरिकलाई अनुरोध गर्दै कुनै पनि उक्साहटमा नपर्न अपिल गरेका छन्।
देश चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै ओलीले राजनीतिक दलहरूलाई आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति, स्थायित्व र राष्ट्रिय एकताका लागि सहकार्य गर्न आह्वान गरेका छन्। साथै, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी तथा धार्मिक र सामाजिक क्षेत्रका प्रतिनिधिहरूलाई सामाजिक सद्भाव र राष्ट्रिय हितको संरक्षणका लागि एकताबद्ध हुन पनि उनले आग्रह गरेका छन्।









Facebook Comments