काठमाडौँ । मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालका सबै चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका छन् ।

गत शनिवार अस्पतालमा तोडफोड र चिकित्सकमाथि कुटपिटको विरोधमा उत्रिएका चिकित्सकहरूले मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाएका हुन् । अहिले नारायणी अस्पतालको आकस्मिक सेवा नै ठप्प बनाएर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।

ad

चिकित्सकहरूले पर्साका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षकको राजीनामा लगायतका माग समेत राखेका छन् ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ । आज चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालहरुमा ओपीडी सेवा बन्द भएको छ । ओपिडी सेवा बन्द भएका कारण सेवा लिन पुगेका बिरामीहरू मारमा परेका छन् । 


नेपाल चिकित्सक सङ्घले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज ९मंगलबार० देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्ने घोषणा गरेको थियो ।