काठमाडौं । काठमाडौंको बौद्ध क्षेत्रमा आत्मदाह प्रयास गरेकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थायी घर भई बौद्धमा बस्दै आएकी २७ वर्षीया सालु गुरुङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

ad

प्रहरीका अनुसार गुरुङले गत साउन ४ गते राति आफ्नै खाजा पसलको पछाडिको पार्किङ क्षेत्रमा शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। घटनापछि उनका श्रीमानले तत्काल उद्धार गरी शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याएका थिए। प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो।

अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार गुरुङको शरीरको करिब २५ देखि ३० प्रतिशत भाग जलेको थियो। उपचारका क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए।

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।