काठमाडौं । नेपाली कांग्रेसले जननेता बीपी कोइरालाको ४४औँ स्मृति दिवसलाई जलवायु संरक्षणको सन्देशसँग जोड्दै देशभर ‘जलवायु जनचेतना जुटौँ’ अभियान सञ्चालन गर्ने भएको छ। साउन ६ र ७ गते विभिन्न कार्यक्रममार्फत वातावरण संरक्षण र वनको महत्वबारे जनचेतना फैलाइने कांग्रेसले जनाएको छ।

पार्टी उपसभापति विश्वप्रकाश शर्माका अनुसार साउन ६ गते मनाइने बीपी स्मृति दिवसका अवसरमा काठमाडौंमा केन्द्रीय कार्यक्रम आयोजना गरिनेछ भने देशभरका पार्टी संरचनाले पनि आ–आफ्नो क्षेत्रमा स्मृति दिवसका कार्यक्रम सञ्चालन गर्नेछन्। साउन ७ गते समेत जलवायु सचेतनासँग सम्बन्धित गतिविधिलाई निरन्तरता दिइने उनले जानकारी दिए।

ad

शर्माले बीपी कोइरालाको योगदानलाई वातावरण संरक्षणसँग जोड्नुको ऐतिहासिक आधार रहेको उल्लेख गर्दै उनको नेतृत्वमा वन राष्ट्रियकरणको निर्णय भएको स्मरण गरे। उक्त निर्णयले नेपालको वन सम्पदा संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

उनले २०४६ सालपछि सामुदायिक वनको अवधारणा लागू भएसँगै स्थानीय समुदायको सहभागितामा वन संरक्षण अझ प्रभावकारी बनेको उल्लेख गर्दै अहिले देशमा कायम रहेको वन क्षेत्रको संरक्षणमा बीपी कोइरालाको दूरदृष्टि र सामुदायिक वन व्यवस्थापन दुवैको योगदान रहेको बताए।

कांग्रेसले यस वर्षको बीपी स्मृति दिवसलाई केवल श्रद्धाञ्जलीमा सीमित नराखी जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने अभियानका रूपमा मनाउने तयारी गरेको जनाएको छ।