
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैलीमाथि कडा आलोचना गर्दै मिटरब्याज पीडितदेखि अर्थतन्त्र, रोजगारी, सेयर बजार र राजनीतिक व्यवस्थासम्मका विषयमा सरकार असफल भएको आरोप लगाएका छन्। उनले एमालेले अब सडक र सदन दुवै मोर्चाबाट प्रभावकारी रूपमा प्रतिवाद अघि बढाउने पनि घोषणा गरेका छन्।
आइतबार पार्टी मुख्यालय च्यासलमा एमाले संसदीय विभागद्वारा आयोजित सांसद प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने प्रतिबद्धता पूरा गर्न नसकेको दाबी गरे। उनका अनुसार सरकारले समस्या समाधान गर्नुको सट्टा पीडितलाई पुनः निराश बनाएको छ।
अर्थतन्त्रबारे बोल्दै उनले मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गएको जिकिर गरे। बजारमा मूल्यवृद्धि र करको भार बढ्दै गए पनि सरकारले वास्तविक अवस्था लुकाउन खोजेको आरोप उनले लगाए। उनका अनुसार सरकारका अभिव्यक्तिले आर्थिक यथार्थ प्रतिबिम्बित गर्न सकेका छैनन्।
रोजगारीको अवस्थाबारे टिप्पणी गर्दै ओलीले युवाहरूको वैदेशिक पलायन अझ बढिरहेको दाबी गरे। सरकारले रोजगारी सिर्जना गर्न नसकेको वास्तविकतालाई ढाकछोप गर्न खोजिएको उनको भनाइ थियो।
सेयर बजारको अवस्थाप्रति पनि उनले चिन्ता व्यक्त गर्दै वर्तमान सरकारको कार्यकालमा बजारको ठूलो पूँजी घटेको दाबी गरे। लगानीकर्ताको विश्वास कमजोर बन्दै गएको संकेत गर्दै उनले अर्थतन्त्रलाई थप जोखिमतर्फ धकेलिएको आरोप लगाए।
राजनीतिक सन्दर्भमा ओलीले अहिलेको अवस्था परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन बन्दै गएको टिप्पणी गरे। लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान र कानुनले निर्दिष्ट गरेका प्रक्रिया हुने उल्लेख गर्दै उनले हिंसा, आगजनी, तोडफोड, कब्जा र असंवैधानिक गतिविधिबाट राजनीतिक परिवर्तन हुन नहुने बताए। राज्यको उपस्थिति कमजोर हुँदा अराजकता बढ्दै गएको उनको भनाइ थियो।
उनले पार्टीका नेता–कार्यकर्तालाई सडक आन्दोलन र संसदीय भूमिकालाई समान रूपमा प्रभावकारी बनाउन निर्देशन दिए। पछिल्ला राजनीतिक घटनाक्रमपछि कार्यकर्ताको मनोबल केही खस्किएको स्वीकार गर्दै त्यसबाट माथि उठेर जनतामाझ सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार सडक र सदनको संघर्ष एकअर्काका पूरक हुन् र दुवैलाई समान महत्वका साथ अघि बढाउनुपर्छ।
एमालेको जनाधार कमजोर पार्ने प्रयास भएको दाबी गर्दै ओलीले पार्टीलाई पुनः जनतामाझ स्थापित गर्न नेता–कार्यकर्ता सक्रिय हुनुपर्ने बताए।
सामाजिक सञ्जालको प्रयोगबारे पनि उनले चिन्ता व्यक्त गरे। उत्तरदायित्व र जवाफदेहिताविना सामाजिक सञ्जालमार्फत निराधार तथा असत्य सूचना फैलाउने प्रवृत्ति बढेको भन्दै त्यसले समाजमा विकृति सिर्जना गरिरहेको उनको भनाइ थियो। स्वस्थ र तथ्यमा आधारित सार्वजनिक बहस आवश्यक भए पनि गलत सूचना फैलाउने अभ्यासले लोकतान्त्रिक संस्कृतिलाई कमजोर बनाउने उनले बताए।
कार्यक्रममा ओलीले सांसदहरूलाई संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न अध्ययनशील बन्न आग्रह गर्दै केवल तयार पारिएका सामग्रीमा निर्भर नपरी तथ्य, प्रमाण, प्रविधि र अध्ययनका आधारमा जनसरोकारका विषय उठाउन निर्देशन दिए। संसद्मा सङ्ख्याभन्दा पनि तथ्य र सत्य नै सबैभन्दा बलियो आधार हुने उनको भनाइ थियो।









Facebook Comments