
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको गठन प्रक्रियामाथि प्रश्न उठाउँदै सरकार हिंसा र अराजकताका घटनाको पृष्ठभूमिमा बनेको आरोप लगाएका छन्।
आइतबार एमाले केन्द्रीय कार्यालयमा पार्टीको संसदीय मामिला विभागले सांसदहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले लोकतान्त्रिक व्यवस्थामा सरकार परिवर्तनका लागि संविधान र कानुनले स्पष्ट प्रक्रिया निर्धारण गरेको भए पनि वर्तमान सरकार त्यसअनुसार नबनेको दाबी गरे।
उनले सरकार हत्या, हिंसा, तोडफोड, कब्जा तथा आगजनीजस्ता घटनाको आधारमा स्थापित भएको आरोप लगाउँदै मुलुकको राजनीति अहिले दिशाविहीन, विधिहीन र थितिविहीन अवस्थामा पुगेको टिप्पणी गरे।
ओलीले लोकतान्त्रिक मूल्य–मान्यता, संवैधानिक प्रक्रिया र राजनीतिक स्थायित्वको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकलाई अन्योलतर्फ धकेलेको जिकिर गरे।
उनको अभिव्यक्तिपछि वर्तमान सरकारको वैधता, गठन प्रक्रिया र समग्र राजनीतिक अवस्थाबारे फेरि बहस चर्किने अनुमान गरिएको छ।









Facebook Comments