काठमाडौं । प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग गर्दै युवाहरूको एक समूहले शनिबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। उनीहरूले मुलुकको राजनीतिक प्रणालीमा परिवर्तन आवश्यक रहेको दाबी गर्दै आगामी २०८७ सालभित्र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था लागू गर्नुपर्ने माग अघि सारेका हुन्।
प्रदर्शनमा सहभागीहरूले संघीय संरचनामा समेत पुनरावलोकन गर्नुपर्ने भन्दै प्रदेश संरचना खारेज गरी स्थानीय तहलाई थप अधिकार र स्रोतसाधनसहित सुदृढ बनाउनुपर्ने धारणा राखे। त्यस्तै, मन्त्रिपरिषद्लाई अधिकतम १० सदस्यीय बनाउनुपर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रलाई पूर्ण रूपमा राज्यको जिम्मेवारीमा ल्याउनुपर्ने तथा बैंकिङ क्षेत्रको राष्ट्रियकरण गर्नुपर्ने माग पनि उनीहरूले उठाएका छन्।
आन्दोलनमा सहभागी युवा अर्जुन विश्वकर्माले मुलुकमा भूमिहीन, सुकुम्बासी र वास्तविक नागरिकका रूपमा पहिचान भएका जग्गाविहीन परिवारको समस्या समाधानका लागि वैज्ञानिक भूमि सुधार ऐन आवश्यक रहेको बताए। उनका अनुसार भूमि व्यवस्थापनको दीर्घकालीन समाधानबिना सामाजिक न्याय सुनिश्चित हुन नसक्ने अवस्था रहेको छ।
प्रदर्शनकारीहरूले अपराध नियन्त्रण र अनुसन्धान प्रणालीलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था थप कडा बनाउनुपर्नेमा पनि जोड दिएका छन्। अपराधमा संलग्न व्यक्तिलाई कडा सजायको व्यवस्था गरी कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको माग छ।
शिक्षा प्रणालीमा पनि व्यापक सुधारको आवश्यकता औंल्याउँदै उनीहरूले वर्तमान पाठ्यक्रम पुनर्लेखन गरी सीप, प्रविधि र रोजगारीमुखी शिक्षामा आधारित व्यवहारिक पाठ्यक्रम लागू गर्न सरकारसँग आग्रह गरेका छन्। प्रदर्शनका क्रममा उनीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारसँग पहल गर्नुपर्ने भन्दै खबरदारीसमेत गरेका छन्।









Facebook Comments