
काठमाडौं । आफ्ना माग सुनुवाइ नभएको भन्दै निहारिका राजपूत र बिनु यादवले शनिबार सिंहदरबारको दक्षिण गेटअघि धर्ना दिएका छन्। गृहमन्त्रीसँग भेटेर आफ्ना समस्या राख्न खोज्दा प्रवेशमा अवरोध भएको आरोप लगाउँदै उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्ह ‘घण्टी’ बजाएर प्रतीकात्मक विरोध जनाएका हुन्।
धर्नाका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै राजपूतले आफूहरू सिंहदरबार प्रवेशका लागि आवश्यक पास लिएर पुगे पनि प्रहरीले भित्र जान नदिएको र करिब चार घण्टासम्म बाहिरै पर्खाइमा राखिएको दाबी गरिन्। प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल हुँदा आफ्नो लुगा च्यातिएको र सामान्य चोटसमेत लागेको उनको भनाइ थियो।
राजपूतले विगतदेखि उठाउँदै आएको बलात्कारपछि जन्मिएको शिशुको डीएनए परीक्षण, त्यसपछि भएको मिलापत्र विवाह तथा आफूले भोगेको घरेलु हिंसासम्बन्धी विषय अझै समाधान नभएको बताइन्। नयाँ सरकार बनेपछि आफ्ना मागप्रति सकारात्मक पहल हुने अपेक्षा गरे पनि त्यसअनुसारको सुनुवाइ नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरिन्।
उनले पत्रकारिता र स्थानीय तहको नेतृत्वमा रहँदा आफ्नो पक्षमा आवाज उठाएका रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह अहिले जिम्मेवारीमा पुगेपछि आफ्नो मुद्दामा मौन रहेको आरोपसमेत लगाइन्।
राजपूत र यादवले गृहमन्त्रीले आफूहरूको आग्रहलाई बेवास्ता गरेको र आफूसँगै रहेका पाँच वर्षीय बालकको अवस्थासमेत ध्यान नदिएको भन्दै आक्रोश व्यक्त गरे। आफ्ना मागमा निष्पक्ष अनुसन्धान, न्यायिक प्रक्रिया अघि बढाउने सुनिश्चितता र सम्बन्धित निकायबाट ठोस पहल नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी पनि उनीहरूले दिएका छन्।









Facebook Comments