काठमाडौं । आगामी असोज मसान्तभित्र पुराना बैंक खातामा राष्ट्रिय परिचयपत्र (एनआईडी) वा त्यसको नम्बर अद्यावधिक नगर्ने ग्राहकले बैंकिङ कारोबारमा प्राविधिक अवरोध सामना गर्नुपर्ने अवस्था आउन सक्ने भएको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको संशोधित एकीकृत निर्देशनअनुसार २०८३ असोज मसान्तसम्म १ माघ २०८० अघि खोलिएका सबै खातामा राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य रूपमा अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको हो।

राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलका अनुसार तोकिएको समयभित्र विवरण अद्यावधिक नभएका खाताबाट सामान्य बैंकिङ सेवा लिन कठिनाइ हुन सक्छ। उनका अनुसार खाता स्वतः बन्द वा रकम जफत हुने व्यवस्था भने गरिएको छैन। बरु अद्यावधिक नभएका खातालाई विशेष निगरानीमा राखेर केही बैंकिङ सेवा सीमित गर्न सकिने व्यवस्था गरिएको छ।

ad

उनले केवाईसी (नो योर कस्टमर) विवरण नियमित रूपमा अद्यावधिक गर्नुपर्ने भएकाले राष्ट्रिय परिचयपत्र नम्बर पनि त्यसैको अभिन्न हिस्सा बनाइएको बताए। उनका अनुसार एनआईडी विवरण नबुझाएका खातालाई बैंकहरूले ‘अनअपडेटेड’ वा ‘अनभेरिफाइड’ श्रेणीमा राख्न सक्नेछन्, जसका कारण ठूला रकमको कारोबार, केही डिजिटल सेवा वा अन्य बैंकिङ सुविधा प्रयोगमा समस्या आउन सक्छ।

राष्ट्र बैंकका अनुसार यो व्यवस्था ग्राहकलाई सजाय दिन नभई बैंकिङ प्रणालीलाई सुरक्षित, पारदर्शी र विश्वसनीय बनाउन लागू गरिएको हो। बायोमेट्रिकमा आधारित एकीकृत ग्राहक पहिचान प्रणाली विकास भएपछि एउटै विवरण विभिन्न बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्न सकिने र नक्कली वा दोहोरो पहिचानको जोखिम घट्ने अपेक्षा गरिएको छ।

राष्ट्र बैंकले हाल नेपालमा करिब तीन करोड जनसंख्याको तुलनामा ६ करोड २० लाखभन्दा बढी बैंक खाता रहेको तथ्यांक उल्लेख गर्दै निष्क्रिय तथा अद्यावधिक नभएका खाताले साइबर आक्रमण, ह्याकिङ, सम्पत्ति शुद्धीकरण तथा ‘मनी म्युल’ जस्ता गैरकानुनी गतिविधिको जोखिम बढाउन सक्ने जनाएको छ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ अनुसार बचत खातामा तीन वर्ष र चल्ती खातामा एक वर्षसम्म कुनै कारोबार नभए त्यस्ता खाता निष्क्रिय मानिन्छन्। लामो समयसम्म निष्क्रिय रहेका खाताको विवरण राष्ट्र बैंकलाई पठाउनुपर्ने तथा कानुनी प्रक्रिया पूरा गरेपछि मात्र त्यस्ता रकम बैंकिङ विकास कोषमा जाने व्यवस्था छ।

ग्राहकको सहजताका लागि राष्ट्र बैंकले बैंकहरूलाई मोबाइल बैंकिङ एप तथा अनलाइन माध्यमबाटै राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्ने सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। यसबाट अधिकांश ग्राहकले शाखामा उपस्थित नभई घरबाटै आफ्नो विवरण अद्यावधिक गर्न सक्नेछन्।

विदेशमा रहेका नेपाली नागरिकका हकमा भने विशेष व्यवस्था गरिएको छ। अनलाइनमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक कागजातका आधारमा खाता खोल्न सकिनेछ। तर नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रको विवरण बैंकमा अद्यावधिक गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।