
काठमाडौं । पुँजी बजार सुधारको माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेका लगानीकर्ताले बोर्डबाट सुधारको कार्ययोजना सार्वजनिक गर्ने प्रतिबद्धता पाएपछि तत्कालका लागि आन्दोलन स्थगित गरेका छन्। यद्यपि, बजारमैत्री कार्ययोजना नआएदेखि ब्रोकर कार्यालय बन्द गराएर सेयर कारोबार नै रोक्ने चेतावनी दिएका छन्।
मंगलबार बिहान सेयर बजारका लगानीकर्ता सेबोनमा तालाबन्दी गर्ने घोषणा गर्दै बोर्ड कार्यालय पुगेका थिए। आन्दोलनको पूर्वसूचना पाएपछि नेपाल प्रहरीले बोर्ड परिसरमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। प्रहरीले तालाबन्दी गर्न नदिएपछि लगानीकर्ता बोर्डको मुख्य गेट बाहिर धर्नामा बसेका थिए।
करिब तीन घण्टासम्म लगानीकर्ता र प्रहरीबीच सामान्य भनाभन भए पनि कुनै अप्रिय घटना भएन। आन्दोलन लम्बिँदै जाँदा बोर्डका अध्यक्ष गोपाल भट्टले आन्दोलनको नेतृत्व गरिरहेका तिलक कोइरालासँग टेलिफोन संवाद गरेका थिए।
संवादका क्रममा अध्यक्ष भट्टले अर्थमन्त्रीसँग छलफल गरेर पुँजी बजार सुधारसम्बन्धी कार्ययोजना मंगलबार साँझसम्म सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्दै आन्दोलन स्थगित गर्न आग्रह गरेका थिए। त्यसपछि आन्दोलनरत पक्ष तत्कालका लागि पछि हट्न सहमत भएको हो।
लगानीकर्ताले सरकारले पुँजी बजार सुधारका विषयमा अपेक्षित पहल नगरेको आरोप लगाउँदै धितोपत्र बोर्ड प्रभावकारी रूपमा काम गर्न नसकेको बताएका छन्। उनीहरूले सुधारको स्पष्ट कार्ययोजना सार्वजनिक नभए बुधबारदेखि देशभरका ब्रोकर कार्यालय बन्द गराउने र सेयर कारोबार पूर्ण रूपमा ठप्प पार्ने चेतावनी दिएका छन्।
लगानीकर्ताका अनुसार सरकारले सार्वजनिक गर्ने कार्ययोजनाको विषयवस्तु नै आगामी आन्दोलनको स्वरूप निर्धारण गर्नेछ।









Facebook Comments