
काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले विभिन्न सञ्चारगृह र राजनीतिक व्यक्तित्वका निवास अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको बताएका छन्। उनले कानुन उल्लंघनमा संलग्न जोसुकै भए पनि कारबाहीबाट उन्मुक्ति नपाउने स्पष्ट पारे।
मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीले उक्त घटनामा सरकारकै संलग्नता रहेको आरोपबारे प्रश्न गरेपछि मन्त्री पोखरेलले सरकारले त्यस्तो गतिविधि नगरेको दाबी गरे।
उनले भने, "यदि सरकारले नै यस्तो गरेको भए नेपाल प्रहरीले यसको खोजी गर्ने अवस्था आउने थिएन। प्रहरी घटनामा संलग्न व्यक्तिहरूको पहिचान र अनुसन्धानमा जुटेको छ। जुनसुकै पार्टी वा समूहका व्यक्ति भए पनि कानुनविपरीत काम गरेको प्रमाणित भए कानुनअनुसार कारबाही हुन्छ।"
गत सोमबार काठमाडौंका केही सञ्चारगृह, राजनीतिक नेताको निवास तथा व्यवसायिक प्रतिष्ठानको प्रवेशद्वार अगाडि गाडी पार्किङ गरी आवतजावतमा अवरोध सिर्जना गरिएको थियो। घटनापछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म यसको उद्देश्य र संलग्नताबारे विभिन्न अड्कलबाजी भए पनि प्रहरीले औपचारिक अनुसन्धान अघि बढाएको जनाएको छ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले सुरुदेखि नै उक्त गतिविधिको विरोध गरेको र त्यससम्बन्धी विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरिसकेको बताए।
लामिछानेले घटनामा रास्वपाका कुनै नेता वा कार्यकर्ता संलग्न रहेको पुष्टि भए पार्टीले आन्तरिक रूपमा समेत कारबाही गर्ने स्पष्ट पार्दै दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।
प्रहरीले घटनामा प्रयोग गरिएका सवारीसाधन, तिनका धनी तथा चालकको पहिचान गरी थप अनुसन्धान जारी राखेको जनाएको छ।









Facebook Comments