
काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको नेतृत्वमा परिवर्तन गर्दै सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई महाप्रबन्धकको जिम्मेवारीसमेत सम्हाल्ने गरी कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले बीउबिजन (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपालको विपद् खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ। सरकारले यस्तो भत्ता जोखिमपूर्ण उद्धार कार्यमा संलग्न जनशक्तिलाई प्रोत्साहनस्वरूप उपलब्ध गराउने जनाएको छ।
बैठकले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियोथेरापिस्ट तथा व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गर्ने निर्णयसमेत गरेको छ।
यस्तै, अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी विषयमा विगतमा गठन भएका विभिन्न आयोगले दिएका प्रतिवेदन गृह मन्त्रालयमार्फत तत्काल कार्यान्वयनमा लैजाने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए।









Facebook Comments