काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ केन्द्रीय महाधिवेशनलाई प्रविधिमैत्री र व्यवस्थित बनाउने निर्णय गरेको छ। केन्द्रीय निर्वाचन समितिको आइतबार सानेपामा बसेको बैठकले निर्वाचन प्रक्रियामा प्रविधिको व्यापक प्रयोग गर्ने तथा कानुन व्यवसायीलाई निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णय गरेको हो।

वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले महाधिवेशन तोकिएकै समय अर्थात् असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाएको छ।

ad

समिति सदस्य–सचिव राजु कटुवालका अनुसार महाधिवेशनलाई सकेसम्म पेपरलेस बनाउने लक्ष्यसहित डिजिटल प्रणाली तथा आवश्यकताअनुसार विद्युतीय मतदान (इभिएम) प्रविधिलाई प्राथमिकता दिने निर्णय गरिएको छ। यसअघि पार्टीले क्रियाशील सदस्यताको अद्यावधिक प्रक्रिया पनि सम्पन्न गरिसकेको छ।

महाधिवेशनको निष्पक्षताबारे संस्थापनइतर समूहबाट प्रश्न उठिरहेका बेला निर्वाचन प्रक्रियालाई थप विश्वसनीय बनाउन प्रविधिको उच्चतम प्रयोग गर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

बैठकले निर्वाचन प्रक्रिया सुरु भएसँगै निर्वाचन आचारसंहिता पूर्ण रूपमा लागू हुने उल्लेख गर्दै केन्द्रीय कार्यसमितिदेखि सबै तहका निकायलाई त्यसको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

यस्तै, काठमाडौं उपत्यकाका तीन जिल्लाअन्तर्गतका निर्वाचन क्षेत्र, महानगरपालिका र नगरपालिकामा निर्वाचन अधिकृतका रूपमा महिला कानुन व्यवसायीलाई प्राथमिकताका साथ खटाउने निर्णय पनि गरिएको छ।

निर्वाचन व्यवस्थापनलाई प्रभावकारी बनाउन कानुन व्यवसायी तथा अन्य पेसागत क्षेत्रका व्यक्तिहरूको स्वयंसेवक रोस्टर तयार गरी आवश्यक अभिमुखीकरणपछि निर्वाचन अधिकृतका रूपमा परिचालन गर्ने निर्णयसमेत बैठकले गरेको छ।