डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–४ स्थित मौरेलेख क्षेत्रमा आइतबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार दिउँसो करिब १:५० बजे माझगाउँबाट जुम्लातर्फ जाँदै गरेको कर्णाली प्रदेश ००१ ज ००५२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब २०–२५ मिटर तल खसेपछि दुर्घटना भएको हो।

ad

दुर्घटनामा त्रिपुरासुन्दरी नगरपालिका–८ निवासी ३८ वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिपमा चालकसहित १४ जना सवार रहेको र चालकसहित बाँकी १३ जना घाइते भएको जानकारी प्रहरीले दिएको छ। घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ।

उद्धार कार्यका लागि चन्दननाथ नगरपालिकाको एम्बुलेन्स जुम्लाबाट घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी पदम रावलले जानकारी दिएका छन्।

प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ भने घाइतेहरूको विस्तृत परिचय संकलन गर्ने काम भइरहेको छ।