काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर पार्ने दिशामा अघि बढिरहेको आरोप लगाउँदै पार्टीका नेता–कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन आह्वान गरेका छन्।

आइतबार काठमाडौंमा नेकपा उपत्यका प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले सरकारविरुद्ध सशक्त रूपमा उभिनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन्। उनका अनुसार सरकार सुशासन र विकासभन्दा पनि संविधानले सुनिश्चित गरेका महिला, दलित, आदिवासी तथा जनजातिका अधिकार संकुचित गर्ने नीति अवलम्बन गरिरहेको छ।

ad

दाहालले सुकुम्वासी बस्ती हटाउने, विद्यार्थी संगठनमाथि अंकुश लगाउने, ट्रेड युनियनका अधिकार सीमित गर्ने तथा राष्ट्रिय सीमासम्बन्धी विषयमा गैरजिम्मेवार अभिव्यक्ति दिने कार्य सरकारले गरिरहेको आरोप लगाए। सरकारका गतिविधिप्रति आफूले संसदमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा थप तथ्य र विषयवस्तुसहित सरकारको आलोचना गर्ने चेतावनी पनि दिए।

पार्टी पंक्तिलाई आन्दोलनका लागि तयारी अवस्थामा रहन निर्देशन दिँदै उनले विगतमा पार्टीले विचार र रणनीतिक तहमा कमजोरी गरेको स्वीकार गरे। वर्ग संघर्षको मूल एजेन्डाभन्दा तत्कालीन कार्यनीतिमा बढी केन्द्रित हुँदा संगठन कमजोर बनेको उनको भनाइ थियो।

आफ्नै नेतृत्वकालका कमजोरीप्रति जिम्मेवारी स्वीकार गर्दै दाहालले पार्टी बिग्रनुमा आफूले मुख्य जिम्मेवारी लिनुपर्ने बताए। तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गर्दै उनले कहिलेकाहीँ आफूलाई नेतृत्वबाट हटाइदिन आग्रह गर्न मन लाग्ने अवस्था समेत आउने गरेको टिप्पणी गरे।