देवकोटाको जिन्दगीभरको ज्ञान र चेतनायुक्त अनुभवः 

‘म शून्यमा शून्यसरि बिलाएँ’

ad

म भन्छु– यही हो देवकोटाको निर्वाण

निर्वाण भन्ने बित्तिकै बुद्धको मात्र सम्झिनुपर्दैन 

निर्वाण भनेको लोभ र आशक्ति निभएपछिको उज्यालो हो

चाहे त्यो कुरुक्षेत्रमा अर्जुनले देखेको उज्यालो होस्

चाहे थाकेको बुद्धले बोधि वृक्षमुनि प्राप्त गरेको उज्यालो होस्

चाहे देवकोटाको आर्यघाटमा प्राप्त शून्यको उज्यालो होस् ।

 

चैतन्य स्वरूप या अचैतन्य–

अधिकांशको ज्ञान फगत रोटीको 

रोटीकोलागि भौतारीनेलाई रोटी दिलाउने ज्ञान 

केवल मसँग मात्र छ भन्नेहरूको उद्घोषः 

‘मलाई राजा बनाऊ 

मसँग छ साँचो चमत्कारको 

कोटीकोटीको लागि रोटीको वर्षा गराइदिन्छ ु।’

 

यसरी नै बनेको इतिहास 

कति राजा बने, कति युद्ध लडे

दुःख पाउने त रोटी प्राप्त हुने विश्वास गर्नेहरूले नै । 

गरिबपरवर देखि माईबाप, प्रभु र सम्माननीयसम्म 

यो लामो समय प्रवाहमा 

रोटीको खोजीमा घर आँगन छोडेकाहरू 

न फर्किन पाएका छन्, न खुसीले बाँचेका छन्

केही सम्पन्न बने पनि ‘पहिचान–संकट’मा परेका

 

यता राजा बन्ने बनाउने क्रमबद्धता कहिले टुटेको छैन 

रोटीको वर्ष होइन, रोटीको खडेरी बढेको छ 

अड्न चाहने र ढाल्न चाहनेबीचको द्वन्द्व–आक्रान्त 

बनेका ती झन् रोटीको खोजीमा भौँतारिएकाहरू ।

 

राजा बनेर बाजागाजा सहितको त्यो शक्ति उन्माद 

एक एक डलरको कम्पनी विदेशमा खोलेर 

स्वदेशको अर्बौं अर्ब लुटेर लैजान सकिने 

त्यसबाट वञ्चित हुनुपर्दाको आक्रोश र छटपटी

अगाडि कठघरा सामुन्ने देखेपछि आत्तिनु नै पर्ने भो !

अनि मनभित्र बलेको लोभ, क्रोध र आशक्तिको आगो

निभ्ने त कुरै भएन यी मनुवाहरूको 

अलिकति कम पनि भएन

बरु झन् झन् दन्किरहेको अचाक्ली अशान्त बनेको मनभित्र

असत्यबाट ‘विभ्रमित–सत्य’को पथमा हिँडेकाहरू 

त्यो ननिभीकन मनभित्र उज्यालो कहाँ हुनसक्छ र ?

त्यसैले उज्यालोविहीन शून्य बनेका छन् ।

 

यसरी बनेका यी शून्यहरू

शून्यमा शून्य जोड्दा शून्य नै हुन्छ 

शून्यबाट शून्य घटाउँदा बाँकी शून्य नै हुन्छ 

शून्यलाई शून्यले भाग गर्दा पनि शून्य नै हुन्छ 

शून्यलाई शून्यले गुन्दा पनि शून्य नै हुन्छ 

अरू के भनूँ म ? 

यी चार मिलेर बनेको शून्यमा पाँचौँ थपिएर के हुने ? 

मिल्नु र नमिल्नुमा कुनै तात्विक भिन्नता छ र ? 

कतिपटक मिलेर थुम्को बने

कतिपटक सयौँ टुक्रामा टुटफुट भए । 

अहिले त समयको हुरीले बढार्दा सपाट मैदान । 

 

म आफ्नै तालुलाई छाम्छु 

कुनैबेला टुपीको शिखा पार्दा घना कपाल 

आज पूरै चिल्लो छ 

मानौँ त्यहाँ पहिले कुनै कपाल नै थिएन

सधैँ तालुमा आलु फल्दैन 

समय बुझ्न नसकेपछि दुर्गति भोगेका यी शून्यहरू

सर्पराजको फुँकार–

आफू राफसाफ हुँदा पनि 

अरूको पत्तासाफ गर्ने चेतावनी दिन्छन् 

पाँचौँ थपिनु, मिल्नु र नमिल्नुको बिचमा अन्तर छ र ? 

अस्थिर अवस्थालाई अझ अस्थिर बनाउनेबाहेक ।