
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र मतभिन्नता भए पनि कांग्रेस विभाजनको अवस्थामा नरहेको स्पष्ट पारेका छन्। उनले कांग्रेस न फुटेको र भविष्यमा पनि नफुट्ने दाबी गर्दै आगामी १५औँ नियमित महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
पार्टीभित्र देखिएको पछिल्लो राजनीतिक गतिविधिबारे प्रतिक्रिया दिँदै घिमिरेले विचारमा फरक हुनु स्वाभाविक भए पनि त्यसलाई पार्टी विभाजनसँग जोडेर हेर्न नहुने बताए। उनका अनुसार कांग्रेसको प्रतिस्पर्धा संगठन सुदृढ बनाउने र पार्टीलाई बलियो बनाउने दिशामा केन्द्रित हुनुपर्छ।
विशेष महाधिवेशनमार्फत बनेको वर्तमान नेतृत्व वैधानिक रहेको उल्लेख गर्दै उनले त्यसलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले समेत मान्यता दिइसकेको बताए। त्यसैले नेतृत्वको वैधतामाथि प्रश्न उठाउनुको कुनै औचित्य नरहेको उनको भनाइ छ।
संस्थापन इतर समूहले छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्ने र भेला आयोजना गर्ने गतिविधिलाई उनले अस्वाभाविक नभएको बताए। लोकतान्त्रिक पार्टीभित्र छलफल र संगठनात्मक गतिविधि गर्न पाइने भए पनि त्यसका नाममा पार्टीलाई कमजोर बनाउने काम स्वीकार्य नहुने उनको धारणा थियो।
घिमिरेले असोज १६ देखि १९ गतेसम्म हुने तय भएको १५औँ महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको जानकारी दिए। निर्वाचन कार्यतालिकासहित आवश्यक प्रक्रिया सार्वजनिक भइसकेकाले निर्धारित समयमै महाधिवेशन सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए।
महाधिवेशनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न नेतृत्व प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले असहमति राख्ने नेताहरूलाई पनि सम्मानजनक ढंगले समेट्ने प्रयास जारी रहने बताए। पार्टी विधान र लोकतान्त्रिक प्रक्रियालाई सबैले स्वीकार गरेमा महाधिवेशन समयमै सम्पन्न गर्न कुनै समस्या नहुने उनको विश्वास छ।
पूर्वसभापति शेरबहादुर देउवाले विदेशबाट पार्टी सञ्चालन गरिरहेको भन्ने चर्चालाई घिमिरेले निराधार हल्लाको संज्ञा दिए। उनले कुनै पनि राजनीतिक दल व्यक्ति होइन, संस्थागत प्रणालीका आधारमा सञ्चालन हुनुपर्ने धारणा राख्दै पार्टी विधान नै सर्वोच्च हुने बताए।
आगामी महाधिवेशनबाट सभापति गगन थापाले पुनः नेतृत्वका लागि दाबी गर्नु स्वाभाविक रहेको उनको भनाइ छ। अन्तिम निर्णय भने महाधिवेशन प्रतिनिधिहरूको मतबाट हुने उनले स्पष्ट पारे।
युवा नेतृत्वबारे बोल्दै घिमिरेले पार्टीलाई समयअनुकूल बनाउन नयाँ पुस्ताको सहभागिता अनिवार्य रहेको बताए। आफूभन्दा सक्षम र प्रभावकारी नेतृत्व तयार भए त्यसलाई सहज रूपमा जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको उल्लेख गर्दै उनले पदभन्दा पार्टीको सिद्धान्त, नीति र संगठन सुदृढीकरण आफ्नो प्राथमिकता भएको बताए।
उनका अनुसार देशभरका कार्यकर्ता र शुभेच्छुकसँगको भेटघाटका क्रममा पार्टीमा पुस्तान्तरण, संगठन सुधार र नयाँ नेतृत्वको आवश्यकता सम्बन्धी सुझावहरू व्यापक रूपमा प्राप्त भइरहेका छन्। ती सुझावलाई आत्मसात गर्दै कांग्रेसलाई अझ बलियो र जनमुखी बनाउने दिशामा नेतृत्व अघि बढ्ने उनले बताए।










Facebook Comments