
काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा शुक्रबार विशेष क्षमा पूजा सम्पन्न गरिएको छ। धार्मिक अनुष्ठानसँगै निर्माणाधीन जालपादेवी केबलकार परियोजनाको काम पनि अन्तिम चरणमा पुगेको र आगामी दुई महिनाभित्र व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको कम्पनीले जनाएको छ।
नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले नवनिर्मित मन्दिरमा आयोजित विशेष पूजामा सहभागी हुँदै परियोजना निर्धारित समयमै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन्।
कम्पनीका अनुसार मुख्य लगानी आइएमई समूहको रहेको परियोजनामा पोल निर्माण, बटम र टप स्टेशनका संरचना निर्माणलगायतका अधिकांश भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको छ। अब मुख्य प्राविधिक प्रक्रियाअन्तर्गत तार तान्ने र गोन्डोला जडानको काम अघि बढाइनेछ।
करीब ६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको ३.१ किलोमिटर लामो केबलकारले कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीलाई मोहन्याल गाउँपालिका–७ राजकाँडासँग जोड्नेछ। परियोजनाअन्तर्गत तल्लो स्टेशनमा पाँचतारे होटल, क्यासिनो, ब्यांक्वेट हललगायतका संरचना निर्माण भइरहेका छन् भने माथिल्लो स्टेशनमा रिसोर्ट, जालपादेवी मन्दिर, स्काई वाक, पदमार्ग, रेस्टुरेन्ट र बाल उद्यान विकास गरिँदै छ।
मन्दिरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले निजी क्षेत्रले समय, लागत र गुणस्तरमा ठूला आयोजना सम्पन्न गर्न सक्ने क्षमता बारम्बार प्रमाणित गरेको बताए। पर्यटन पूर्वाधारमा लगानी विस्तार गर्न सके मुलुकमा पर्यटकको बसाइ अवधि बढ्ने, विदेशी मुद्रा आर्जन हुने र रोजगारीका अवसर विस्तार हुने उनको भनाइ थियो। उनले भविष्यमा सातै प्रदेशमा यस्ता पर्यटकीय पूर्वाधार निर्माण गर्ने दीर्घकालीन लक्ष्य रहेको पनि उल्लेख गरे।

स्थानीय उद्योगी–व्यवसायीले परियोजना सञ्चालनमा आएपछि होटल, यातायात, व्यापार, कृषि र सेवा क्षेत्रमा आर्थिक गतिविधि उल्लेखनीय रूपमा बढ्ने विश्वास व्यक्त गरेका छन्। परियोजनाले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सुदूरपश्चिमको पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
भारतीय सीमावर्ती क्षेत्रबाट सहज पहुँच भएकाले यो केबलकार आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकका लागि पनि आकर्षक गन्तव्य बन्ने विश्वास कम्पनीले लिएको छ। कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिहा नाकामार्फत उत्तराखण्ड, उत्तर प्रदेश तथा अन्य भारतीय सहरबाट सडकमार्ग हुँदै सहज रूपमा यहाँ पुग्न सकिने भएकाले परियोजनाले अन्तरदेशीय पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।










Facebook Comments