
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै बृहत्तर एकताको वातावरण निर्माण गर्नुपर्ने निष्कर्ष निकालेको छ। समूहले आन्तरिक छलफललाई व्यवस्थित बनाउन काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयसमेत गरेको छ।
निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गोल्फुटारस्थित निवासमा शुक्रबार बसेको बैठकले असार २२ गतेदेखि चुनदेवीस्थित सम्पर्क कार्यालयबाट महाधिवेशन तयारीसँग सम्बन्धित बैठक र छलफल सञ्चालन गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टीभित्रको मतभेदलाई संवादमार्फत समाधान गर्दै बृहत्तर एकता कायम गर्नु नै बैठकको मुख्य निष्कर्ष रहेको बताए। उनका अनुसार महाधिवेशनको तयारीसँगै पार्टीलाई भावनात्मक रूपमा एकजुट बनाउने प्रयासलाई पनि प्राथमिकता दिइनेछ।
विश्वकर्माले सातै प्रदेशमा आयोजित भेलाहरू सम्पन्न भइसकेको जानकारी दिँदै अब राष्ट्रिय भेलाको तयारी थालिएको बताए। असार २२ गते बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने सम्भावना रहेको उनको भनाइ छ।
उनका अनुसार पार्टीभित्र देखिएका फरक मतका बीच सहमति खोज्ने प्रयास निरन्तर जारी रहनेछ। असार महिनाभित्र संवाद र छलफलले सकारात्मक निष्कर्ष निकाले पार्टी थप एकताबद्ध भएर अघि बढ्न सक्ने विश्वास पनि उनले व्यक्त गरे।
शुक्रबारको बैठकमा नेता शेखर कोइराला र उनीनिकट नेताहरू भने सहभागी थिएनन्। बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवानिकट नेताहरूको उपस्थिति रहेको थियो।
चुनदेवीमा स्थापना गरिने सम्पर्क कार्यालयमा शेखर कोइराला पक्षको सहभागिता रहने वा नरहने विषय अझै स्पष्ट भइसकेको छैन। कोइराला पक्षले भने लामो समयदेखि विशालनगरमा छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्दै आएको छ।










Facebook Comments