नबिल बैंक लिमिटेडले बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले प्रदान गर्ने उत्कृष्ट वार्षिक प्रतिवेदनअन्तर्गत निजी क्षेत्रको बैंकतर्फ नबिल बैंकले लगातार तेस्रोपटक 'गोल्ड अवार्ड' जितेको हो ।

यससँगै बैंकले पहिलोपटक प्रदान गरिएको कर्पोरेट गभर्न्यान्स डिस्क्लोजर अवार्ड र सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड विधामा पनि ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेको छ । यसरी यस वर्ष नबिल बैंक एकैपटक तीनवटा सम्मानबाट विभूषित भएको हो ।

ad

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त प्रमुख सन्दीपबाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।

आइक्यानले आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्यांकनका आधारमा पुरस्कार प्रदान गरेको हो । वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन र दिगोपनालाई मुख्य मापदण्ड बनाएर गरिएको मूल्यांकनमा नबिल बैंक उत्कृष्ट ठहरिएको संस्थाले जनाएको छ ।

यसअघि पनि बैंकले सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि यही गोल्ड अवार्ड प्राप्त गरेको थियो । यस वर्षको पुरस्कृत वार्षिक प्रतिवेदन दक्षिण एसियालीस्तरमा आयोजना हुने साफा बीपीए अवार्डका लागि समेत नेपालबाट मनोनयन हुने आइक्यानले जनाएको छ ।

हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि बैंकिङ सेवा दिँदै आएको बैंकले पछिल्ला वर्षहरूमा दिगो बैंकिङ र डिजिटल सेवामा जोड दिँदै एनबैंकमार्फत डिजिटल बैंकिङ सेवा विस्तार गरिरहेको जनाएको छ ।