थप गरिएको समयको रोमाञ्चक खेलमा गोन्सालो रामोसले उत्कृष्ट हेडरमार्फत गोल गरेपछि पोर्चुगलले क्रोएसियालाई २–१ ले पराजित गर्दै विश्वकप २०२६ को अन्तिम १६ मा स्थान पक्का गरेको छ। क्यानडाको टोरन्टोमा भएको यस 'लेजेन्ड्स' बीचको प्रतिस्पर्धात्मक खेलमा जित निकालेसँगै पोर्चुगलले अब क्वाटरफाइनल प्रवेशका लागि स्पेनसँगको 'इबेरियन भिडन्त' तय गरेको छ। पराजयसँगै क्रोएसियाका दिग्गज मिडफिल्डर लुका मोड्रिचको विश्वकप खेल जीवनको सुखद अन्त्य गर्ने सपना अधुरै रहन पुगेको छ।

खेलको सुरुदेखि नै रोबर्टो मार्टिनेजको टोली पोर्चुगलले आक्रामक रणनीति अपनाएको थियो। खेलको चौथो मिनेटमै ब्रुनो फर्नान्डेजको प्रहारलाई क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले विफल तुल्याएका थिए। पहिलो हाफमा क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र रेनाटो भेइगाले लगातार प्रयास गरे पनि क्रोएसियाको अनुशासित रक्षापङ्क्ति तोड्न सकेनन् र पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफमा खेलको गति विपरीत क्रोएसियाले सुरुवाती अग्रता लियो। इभान पेरिसिचले पोस्टको टाढाको कुनाबाट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाए। यस गोलसँगै पेरिसिच डेभोर सुकरलाई पछि पार्दै विश्वकपमा क्रोएसियाका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्।

ad

त्यसपछि क्रोएसियाले दोस्रो गोलका लागि दबाब बढाए पनि पोर्चुगिज गोलकिपर डिओगो कोस्टाले उत्कृष्ट बचाउ गरे भने क्रोएसियाको अर्को एउटा गोललाई अफसाइड घोषित गरियो। पोर्चुगलका राफायल लाओको प्रहार क्रसबारमा लाग्यो भने रोनाल्डोको गोल पनि अफसाइड ठहरियो। खेलको ६०औँ मिनेटमा प्रशिक्षक मार्टिनेजले गोन्सालो रामोससहित चार खेलाडी परिवर्तन गरेपछि खेलको नक्सा बदलियो। रेनाटो भेइगालाई पेनाल्टी बक्समा लडाएपछि भिएआर (VAR) को सहयोगमा पोर्चुगलले पेनाल्टी पायो, जसमा ६७औँ मिनेटमा रोनाल्डोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेलको ८०औँ मिनेटमा रोनाल्डो मैदानबाट बाहिरिएपछि क्रोएसियाका माटेओ कोभासिचको प्रहार पोस्टमा ठोक्कियो। खेल पेनाल्टी सुटआउटतर्फ धकेलिँदै गर्दा ९४औँ मिनेटमा लाओको क्रसलाई सदुपयोग गर्दै रामोसले सानदार हेडरमार्फत गोल गरी पोर्चुगललाई २–१ को अग्रता दिलाए। खेलको अन्तिम समयमा क्रोएसियाका योस्को ग्वार्डिओलले गोल गरे पनि लामो भिएआर जाँचपछि इगोर माटानोभिच अफसाइड रहेको पाइएकाले उक्त गोललाई मान्यता दिइएन। यो पुनरागमन जितसँगै पोर्चुगलले क्रोएसियाविरुद्धको आफ्नो अपराजित यात्रा कायम राख्दै अर्को चरणमा स्पेनसँगको बहुप्रतीक्षित भेट पक्का गरेको छ।