
फिफा विश्वकप २०२६ को नकआउट चरणमा शानदार सुरुवात गरेको छ ।
शुक्रबार बिहान भएको रोमाञ्चक खेलमा अस्ट्रियालाई ३-० गोल अन्तरले पराजित गर्दै स्पेनले सन् २०१० पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा जित दर्ता गरेको हो ।
सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको फाइनलमा नेदरल्यान्ड्सलाई हराएर उपाधि जितेयता स्पेनले विश्वकपका नकआउट खेलहरूमा जित निकाल्न सकेको थिएन ।
यो ऐतिहासिक जितसँगै स्पेनले अब क्वाटरफाइनल प्रवेशका लागि पोर्चुगल र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
लस एन्जलस स्टेडियममा भएको खेलमा स्पेनका लागि मिकेल ओयाजाबालले उत्कृष्ट प्रदर्शन गरे । खेलको ३६औं मिनेटमा मार्क कुकुरेलाको पासलाई सदुपयोग गर्दै ओयाजाबालले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । यो गोल स्पेनका लागि विशेष रह्यो, किनकि सन् २०१० को विश्वकप फाइनलमा आन्द्रेस इनिएस्टाले गरेको गोलपछि नकआउट चरणमा स्पेनले गरेको यो नै पहिलो गोल हो ।
पहिलो हाफमा स्पेनले अन्य थुप्रै अवसरहरू सिर्जना गरे पनि अस्ट्रियाका गोलकिपर अलेजान्डर स्लागाले उत्कृष्ट बचाउ गर्दै गोल अन्तर बढ्न दिएनन् । खेलको २९औं मिनेटमा स्पेनका मार्क कुकुरेलाले बललाई जाली चुमाएका थिए, तर स्पेनका खेलाडीले अस्ट्रियाका गोलकिपरलाई अवरोध पुर्याएको भन्दै रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् । ३३औं मिनेटमा ओयाजाबालको प्रहारलाई पनि अस्ट्रियाका गोलकिपर स्लागाले विफल पारिदिए ।
यस्तै, पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा एलेक्स बाएनाको फ्रिकिक बारमा लागेर फर्किएको थियो भने त्यसैको रिबाउन्डमा लामिन यमालले गरेको प्रहारलाई पनि गोलकिपर स्लागाले बचाएका थिए । पहिलो हाफमा १-० को अग्रता बनाएको स्पेनले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । खेलको ६६औं मिनेटमा एलेक्स बाएनाको क्रसलाई पेड्रो पोरोले गोलमा परिणत गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।
स्पेनको राष्ट्रिय टोलीका लागि पोरोको यो पहिलो अन्तर्राष्ट्रिय गोल समेत हो । खेलको अन्त्यतिर, अर्थात् ८९औं मिनेटमा ओयाजाबालले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-० को सहज र सुनिश्चित जित दिलाए ।









Facebook Comments