
काठमाडौं । अखिल नेपाल बुद्धिजीवी सङ्घद्वारा काठमाडौंमा आयोजित ‘वर्तमान विश्वमा युद्ध र शान्तिका समस्याहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रस्तुत गरेको अवधारणापत्र सार्वजनिक गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि तथा अन्तर्राष्ट्रिय सहभागीहरूलाई स्वागत गर्दै अवधारणापत्रमा वर्तमान विश्व परिस्थितिलाई अत्यन्त तनावपूर्ण र द्वन्द्वग्रस्त भएको उल्लेख गरिएको छ । युक्रेन, गाजा, सुडान, म्यानमार, अफगानिस्तान लगायतका क्षेत्रमा जारी युद्ध र द्वन्द्वहरू तथा ताइवान, तिब्बत, भारत–पाकिस्तान सीमा क्षेत्र र भारत–चीन सीमामा देखिएको तनावले विश्वव्यापी सुरक्षा अवस्था जटिल बन्दै गएको टिप्पणी गरिएको छ ।
अवधारणापत्रमा ती द्वन्द्वहरू कुनै पनि समय ठूलो स्तरको युद्ध वा आणविक संघर्षमा रूपान्तरण हुन सक्ने जोखिमप्रति चेतावनी दिइएको छ । यस सन्दर्भमा विश्वभरका शान्तिप्रेमी व्यक्ति र संस्थाहरूले युद्धको जोखिम न्यूनीकरण र दीर्घकालीन शान्ति स्थापनामा सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
लेखमा युद्धको मूल कारणका रूपमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा र साम्राज्यवादी नीतिहरूलाई उल्लेख गर्दै ऐतिहासिक रूपमा विभिन्न प्रकारका शोषण र उत्पीडनले हिंसा र द्वन्द्वलाई जन्म दिएको तर्क प्रस्तुत गरिएको छ । साथै, उत्पीडनविरुद्धका संघर्षलाई ‘न्यायपूर्ण संघर्ष’ का रूपमा व्याख्या गर्दै सबै प्रकारका युद्धलाई एउटै दृष्टिले हेर्न नहुने धारणा राखिएको छ ।
नेपालको सन्दर्भमा, अवधारणापत्रमा देशको ऐतिहासिक रूपमा कहिल्यै औपनिवेशिक शासनमा नपरेको उल्लेख गर्दै आधुनिक इतिहासका विभिन्न युद्धहरू तथा नेपाली सेनाको विभिन्न अन्तर्राष्ट्रिय युद्धमा सहभागिताको चर्चा गरिएको छ । साथै, वर्तमान राजनीतिक परिस्थितिमा नेपाल भविष्यमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको प्रभावका कारण सम्भावित द्वन्द्वमा तानिन सक्ने जोखिमप्रति सचेत रहनुपर्ने भनिएको छ ।
संयुक्त राज्य अमेरिका र चीनबीचको बढ्दो रणनीतिक प्रतिस्पर्धालाई विश्व राजनीति प्रभावित गर्ने प्रमुख पक्षका रूपमा प्रस्तुत गर्दै इन्डो–प्यासिफिक रणनीति र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) जस्ता पहलहरू यसै प्रतिस्पर्धाको हिस्सा भएको दाबी गरिएको छ ।
अवधारणापत्रमा नेपालमा हालैका राजनीतिक परिवर्तनहरू र बाह्य शक्तिहरूको प्रभावबारे पनि टिप्पणी गरिएको छ । नेपालले सबै प्रमुख शक्ति राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिँदै कुनै पनि शक्ति राष्ट्रको रणनीतिक प्रतिस्पर्धामा देश प्रयोग हुन नहुने चेतावनी दिइएको छ ।
विश्वभर युद्ध, साम्राज्यवाद र फासीवादी प्रवृत्तिहरूको विरोध गर्दै शान्तिपूर्ण, जनमुखी र अन्तर्राष्ट्रिय ऐक्यबद्धतामा आधारित आन्दोलन आवश्यक रहेको निष्कर्ष प्रस्तुत गरिएको छ ।










Facebook Comments