नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको संगठन सुदृढीकरण, भ्रष्टाचार विरोधी अभियान र मुलुकको आर्थिक समृद्धिका लागि युवा पुस्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएकी छन् । हिमाली जिल्ला ताप्लेजुङमा विहीबार आयोजित अन्तरक्रियात्मक कार्यक्रममा  सहमहामन्त्री डा. संग्रौलाले आजका युवा केवल भोट बैंक मात्र नभई नीति निर्माण र कार्यान्वयनका संवाहक हुनुपर्नेमा जोड दिइन् ।

सहमहामन्त्री डा. संग्रौलाले कांग्रेसको आधारस्तम्भलाई मजवुत बनाउन र जारी अभियानलाई सफल पार्न युवा वर्गको दायित्व र जिम्मेवारी उच्च रहने उल्लेख गरिन् । उनले पार्टीभित्र नयाँ ऊर्जा थप्नका लागि युवा र महिलाको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वको अध्यावधिक सुनिश्चितता अपरिहार्य भइसकेको स्पष्ट पारिन् । संगठनलाई जगैदेखि बलियो बनाउन अब ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

ad

मुलुकमा व्याप्त बेथिति र भ्रष्टाचार विरुद्ध युवाहरूले नै अग्रसरता लिनुपर्ने धारणा राख्दै डा. संग्रौलाले भनिन्, “सुशासन र सदाचार स्थापनाका लागि युवा वर्गले एउटा सशक्त अभियानकै रूपमा नेतृत्व लिनु आवश्यक छ । जबसम्म युवाहरूले भ्रष्टाचार विरुद्ध औंला उठाउँदैनन् र सदाचारको पक्षमा उभिँदैनन्, तबसम्म समाजको रूपान्तरण सम्भव छैन ।” उनले कांग्रेसले जहिले पनि विधिको शासन र निष्पक्षताको वकालत गर्दै आएको भन्दै युवाहरूलाई सोही मार्गमा अघि बढ्न प्रेरित गरिन् ।

वर्तमान समयमा देशको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको युवा जनशक्तिको पलायन र बढ्दो बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै उनले राज्य र पार्टीले ठोस नीति ल्याउनुपर्नेमा जोड दिइन् । नेपालमै उद्यमशीलताको विकास गरी युवाहरूलाई आयआर्जनका अवसरहरूसँग जोड्नुपर्ने उनको तर्क थियो । “दक्ष र ऊर्जावान् युवाहरू दिनहुँ विदेशिने क्रम रोक्न देशभित्रै रोजगारीको वातावरण सृजना गरिनुपर्छ,” सहमहामन्त्री डा. संग्रौलाले थपिन्, “उनीहरूलाई उचित जिम्मेवारी दिएर उद्यमशीलताको पाटोमा लगाउन सके मात्र ‘समृद्ध नेपाल’ बनाउने राष्ट्रिय अभियानले सार्थकता पाउनेछ ।”

ताप्लेजुङको रैथाने उत्पादन र पर्यटनको सम्भावनालाई उजागर गर्दै डा. संग्रौलाले स्थानीय अर्थतन्त्रको विकासमा समेत युवाहरू जोडिनुपर्ने बताइन् । प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पाथीभरा र विश्वकै तेस्रो अग्लो शिखर कञ्चनजङ्घा क्षेत्रको पर्यटन प्रवर्द्धनका साथै जिल्लामा अत्यधिक उत्पादन हुने अलैंची र अम्रिसोजस्ता नगदे बालीको उचित बजार व्यवस्थापन गर्न आवश्यक रहेको उनको भनाइ थियो । परम्परागत खेतीलाई आधुनिक प्रविधिसँग जोडेर बजार सुनिश्चित गर्न सके स्थानीय स्तरमै ठूलो संख्यामा रोजगारी सिर्जना हुने र आयआर्जनको बलियो स्रोत बन्ने उनले दाबी गरिन् ।

कार्यक्रममा ताप्लेजुङका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता थियो ।