काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिट निवेदन खारेज गरेको छ।

न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलकी श्रीमती दोमायाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै खारेजीको आदेश दिएको हो।

ad

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले रिट खारेज भएको पुष्टि गर्दै आदेशको पूर्ण लिखित विवरण सार्वजनिक हुन केही दिन लाग्ने जानकारी दिए।

सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेललाई गत असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। उनी राजनीतिक प्रतिशोधका कारण गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरिएको थियो।

सर्वोच्चले रिट खारेज गरेसँगै सम्पत्ति शुद्धीकरण अनुसन्धानमा संलग्न निकायलाई अनुसन्धान प्रक्रिया अघि बढाउन कानुनी सहजता भएको छ। हाल पौडेलमाथि विशेष अदालतबाट थुनामा राखेर अनुसन्धान भइरहेको छ। बिहीबार विशेष अदालतले उनीमाथिको अनुसन्धानका लागि तेस्रोपटक थप ६ दिनको म्याद दिएको छ।

यसअघि सर्वोच्च अदालतले पौडेलसँग जोडिएको भनिएको सम्पत्ति शुद्धीकरण प्रकरणमा व्यापारी दीपक भट्टलगायतसँग सम्बन्धित मुद्दाका कागजात झिकाउन आदेश दिएको थियो। ती कागजात अध्ययन गरी पुनः सम्बन्धित निकायमा फिर्ता पठाउने गरी अदालतले पेश गर्न निर्देशन दिएको छ।