काठमाडौं । अध्यागमन विभागले भिसासम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित बनाउन डिजिटल अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली लागू गरेको छ। विभागले साउन १ गतेदेखि समय निर्धारण (अपोइन्टमेन्ट) लिएर आउने सेवाग्राहीलाई मात्रै सेवा उपलब्ध गराउने व्यवस्था लागू गर्ने जनाएको छ।

विभागका अनुसार भिसाको म्याद थप, भिसा रूपान्तरणलगायतका सेवामा सेवाग्राहीको अत्यधिक भीड व्यवस्थापन गर्न नयाँ प्रणाली विकास गरी कार्यान्वयनमा ल्याइएको हो। यसअघि कुनै दिन अत्यधिक चाप हुने र कुनै दिन सेवाग्राहीको संख्या न्यून रहने अवस्थालाई सन्तुलनमा ल्याउन यो व्यवस्था गरिएको विभागले जनाएको छ।

ad

नयाँ प्रणाली गत असार १२ गतेदेखि परीक्षणका रूपमा सञ्चालनमा छ। हाल ‘नेपालीपोर्ट’ प्रणालीमार्फत भिसाका लागि आवेदन दिँदा सेवाग्राहीले घण्टाअनुसार उपलब्ध अपोइन्टमेन्ट समयसमेत छनोट गर्न सक्ने व्यवस्था गरिएको छ। परीक्षण अवधिमा भने अपोइन्टमेन्ट नलिई आएका सेवाग्राहीलाई पनि सेवा दिइँदै आएको विभागले जनाएको छ।

साउनदेखि भने प्रत्येक समयावधिका लागि निश्चित कोटा तोकिनेछ। तोकिएको कोटाअनुसार अपोइन्टमेन्ट लिएका सेवाग्राहीलाई मात्रै सेवा प्रदान गरिने विभागको भनाइ छ। यसबाट कार्यालय समयमा हुने भीडलाई समान रूपमा व्यवस्थापन गर्न र सेवा प्रवाहलाई थप सहज तथा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विभागले नेपालमा रहेका विदेशी नागरिक तथा अन्य सरोकारवालालाई आफ्नो आवश्यकताअनुसार उपलब्ध समय छनोट गरी सोही समयमा मात्रै विभागमा उपस्थित हुन आग्रह गरेको छ। विभागका अनुसार यस व्यवस्थाले सेवाप्रवाहलाई थप व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ।