काठमाडौं । अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायात तथा मालवाहक सवारीसाधनको भाडा दुई प्रतिशतले घटाइएको छ। यातायात व्यवस्था विभागले नयाँ भाडादर शुक्रबारदेखि लागू हुने जनाएको छ।

विभागले सार्वजनिक सूचना जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यमा आएको कमीका आधारमा स्वचालित भाडा समायोजन प्रणालीअनुसार भाडादर पुनःनिर्धारण गरिएको जानकारी दिएको हो।

ad

विभागका अनुसार पछिल्लो पटक भाडा समायोजन गर्दा डिजेलको औसत मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा थियो। असार १७ गतेदेखि डिजेलको मूल्य घटेर प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि सोही आधारमा सार्वजनिक तथा मालवाहक सवारीको भाडा दुई प्रतिशतले घटाइएको हो।

यसअघि वैशाख १२ गते मन्त्रिस्तरीय निर्णयबाट डिजेलको मूल्यवृद्धिपछि सार्वजनिक यातायात र मालवाहक सवारीको भाडा पाँच प्रतिशतले बढाइएको थियो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले विभागले निर्धारण गरेको नयाँ भाडादर कार्यान्वयनमा आउने बताए। उनले सम्बन्धित व्यवसायीले विभागको निर्णयअनुसार सेवा सञ्चालन गर्ने जानकारी पनि दिए।