
काठमाडौं । टिकटकमा ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापामगरले आफ्नी श्रीमती ईश्वरी भुजेलको हत्या गरेको स्वीकार गरेपछि उनी र उनीसँग निकट सम्बन्ध रहेको आरोप लागेकी प्रतिक्षा आचार्यलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। यही प्रकरणमा दम्पतीका छोरा जेनिश थापाले दिएको बयानले घटनालाई थप गम्भीर बनाएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले कुमार थापामगर, प्रतिक्षा आचार्य, विक्रम थापामगर र सुजन थापा क्षेत्रीलाई प्रतिवादी बनाएर कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। बिहीबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कुमार र प्रतिक्षालाई कारागार पठाउने तथा विक्रम र सुजनलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।
अभियोगपत्रमा समावेश कुमार थापामगरको बयानअनुसार उनी लामो समयदेखि वैवाहिक सम्बन्धमा तनावमा थिए। अर्की महिलासँग सम्बन्ध विकसित भएपछि श्रीमतीसँगको विवाद झन् चर्किएको र वैवाहिक बलात्कार तथा सम्बन्धविच्छेदसम्बन्धी मुद्दासमेत अदालतमा विचाराधीन रहेको उनले बताएका छन्।
उनका अनुसार घटनाको दिन सम्बन्ध सुधार्ने उद्देश्यले श्रीमतीलाई भेट्न खोजे पनि सफल नभएपछि साँझ घर फर्किंदा थप तनावपूर्ण अवस्था सिर्जना भयो। त्यसपछि आफूले कारमा रहेको चक्कु निकालेर श्रीमती ईश्वरीलाई पछ्याएको, सडकमा घाँटीमा प्रहार गरी हत्या गरेको र त्यसपछि फरार हुने क्रममा पक्राउ परेको बयानमा उल्लेख छ।
यता, मृतक ईश्वरीका छोरा जेनिश थापाले अदालतमा दिएको बयानले हत्या आकस्मिक नभई योजनाबद्ध भएको दाबी गरेको छ। उनले करिब सात–आठ महिनाअघि आफ्ना बुबा र प्रतिक्षा आचार्यबीच भएको टेलिफोन संवाद सुनेको दाबी गर्दै त्यस क्रममा आफ्नी आमालाई हटाएपछि मात्रै सम्बन्ध अघि बढाउने आशय व्यक्त भएको बताएका छन्।
जेनिशका अनुसार बुबाको सामाजिक सञ्जालमार्फत प्रतिक्षा आचार्य र काका विक्रम थापामगरसँगको निकटता थाहा पाएपछि उनले ती सामग्री आमालाई देखाएका थिए। त्यसपछि घरमा पटक–पटक विवाद, कुटपिट र मानसिक यातना हुने गरेको उनको भनाइ छ। उनले विक्रम थापामगरले समेत बुबालाई आमाविरुद्ध उक्साउने गरेको आरोप बयानमा उल्लेख गरेका छन्।
जेनिशले वैवाहिक बलात्कार मुद्दा दर्ता भएपछि परिवारभित्रको तनाव अझ बढेको, धरौटीमा छुटेपछि कुमारले परिवारलाई धम्क्याउने, ग्यास सिलिन्डर विस्फोट गराउने प्रयाससमेत गरेको दाबी गरेका छन्। त्यसपछि प्रहरीको समन्वयमा परिवार छुट्टाछुट्टै बस्न थालेको र सम्बन्धविच्छेदको मुद्दा अदालतमा विचाराधीन रहेको उनले बताएका छन्।
हत्या भएको दिन आफू र आमा सम्बन्धविच्छेद मुद्दाको पेसीमा अदालत गएको, त्यसपछि आमालाई कार्यालयमा छाडेको र राति सम्पर्कविहीन भएपछि खोजी गर्दा पैयुटार क्षेत्रमा घाइते अवस्थामा फेला परेको उनले बयान दिएका छन्। अस्पताल लैजाँदै गर्दा आमाको मृत्यु भएको र पछि प्रहरीले देखाएको सीसीटीभी फुटेजमा आक्रमणकारी आफ्नै बुबा भएको आफूले सनाखत गरेको उनको भनाइ छ।
जेनिशले प्रतिक्षा आचार्य, विक्रम थापामगर तथा सुजन थापा क्षेत्रीले कुमारसँगको सम्बन्धलाई निरन्तरता दिन सहयोग गरेको र त्यसले हत्या हुन सक्ने वातावरण निर्माण गरेको आरोप लगाएका छन्। उनले घटनामा संलग्न भएको आशंका गरिएका सबै व्यक्तिमाथि निष्पक्ष अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न माग गरेका छन्।










Facebook Comments