काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निवर्तमान महामन्त्री भूपदेव शाह पुनः सोही जिम्मेवारीमा नदोहोरिने लगभग निश्चित भएको स्रोतहरूले बताएका छन्। बालेन शाहको समूहबाट मनोनयन हुने कोटामा उनी फेरि महामन्त्री बन्ने चर्चा भए पनि अन्ततः नयाँ अनुहारलाई अवसर दिने तयारी भएको जनाइएको छ।

बालेननिकट स्रोतका अनुसार भूपदेव शाहलाई पार्टीभित्र अर्को जिम्मेवारी दिने विषयमा छलफल भइरहे पनि कुन पदमा व्यवस्थापन गर्ने भन्ने टुंगो लागिसकेको छैन। यद्यपि उनलाई पुनः महामन्त्री नबनाउने निर्णय लगभग तय भएको दाबी स्रोतको छ।

ad

पार्टीले मनोनयन गर्नुपर्ने पदाधिकारीहरूको नाम अन्तिम रूप नपुग्दा बुधबार सबै पदाधिकारीको शपथसमेत हुन सकेन। संशोधित विधानअनुसार १९ पदाधिकारीमध्ये ११ जना मनोनयनमार्फत चयन हुने व्यवस्था छ। तर बालेन समूहले आफ्ना उम्मेदवारको नाम समयमै नटुंग्याएपछि बाँकी पदाधिकारीको शपथ पछि गर्ने अवस्था बनेको छ। साथै, अझै ५० जना केन्द्रीय सदस्य पनि मनोनयन गर्न बाँकी रहेको छ।

महामन्त्री पदका लागि बालेन समूहभित्र अहिले तीन जनाको नाम चर्चामा रहेको बताइएको छ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, गृहमन्त्री सुधन गुरुङ र बालेनका विश्वासपात्र सुदीप ढकालमध्ये एक जनालाई उक्त जिम्मेवारी दिने सम्भावना रहेको स्रोतको भनाइ छ।

लम्साल बालेनका लामो समयदेखिका निकट सहयोगी मानिन्छन्। विद्यार्थी जीवनदेखि नै उनीहरूबीच घनिष्ठ सम्बन्ध रहेको र काठमाडौं महानगरपालिकामा बालेन प्रमुख हुँदा पनि लम्सालले नजिकबाट काम गरेका थिए। उनलाई उपसभापतिको दाबेदारका रूपमा समेत हेरिए पनि महामन्त्रीका लागि उनको नाम अग्रस्थानमा रहेको चर्चा छ।

यस्तै, गृहमन्त्री सुधन गुरुङ पनि बालेन समूहका प्रभावशाली नेतामध्ये एक हुन्। रवि लामिछाने र बालेन शाहबीचको सम्बन्ध स्थापित गराउन भूमिका खेलेका व्यक्तिका रूपमा चिनिएका गुरुङले पनि महामन्त्री बन्ने इच्छा राख्दै समूहभित्र सक्रिय रूपमा पहल गरिरहेको बताइन्छ।

सुनिल लम्साल र सुधन गुरुङबीच सहमति जुट्न नसके बालेनले आफ्ना अर्का विश्वासपात्र सुदीप ढकाललाई अघि सार्ने विकल्प खुला राखेको स्रोतको दाबी छ। हाल प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार रहेका ढकाल यसअघि काठमाडौं महानगरपालिकामा बालेनका आईटी सल्लाहकारका रूपमा कार्यरत थिए। उनी पार्टीका निर्वाचित केन्द्रीय सदस्य हुन् भने लम्साल र गुरुङ मनोनयनमार्फत नेतृत्वमा आउने अपेक्षा गरिएको छ।

उता, निवर्तमान महामन्त्री भूपदेव शाहलाई भने पार्टीमा फरक जिम्मेवारी दिने विषयमा छलफल जारी रहेको स्रोतको भनाइ छ। उपसभापतिसहित अन्य कुनै भूमिकामा उनलाई व्यवस्थापन गर्ने सम्भावना रहे पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको बताइएको छ।