
काठमाडौं। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गर्ने निर्णय गरेको छ। निर्णयसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालयका विभिन्न विभाग तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा नयाँ नेतृत्व तोकिएको छ।
मन्त्रिपरिषद् सचिवालय स्रोतका अनुसार एआईजी उमाप्रसाद चतुर्वेदीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखको जिम्मेवारी दिइएको छ। यसअघि उनी प्रहरी प्रधान कार्यालयको कार्य (अपरेसन) विभागमा कार्यरत थिए।
हाल सीआईबीको नेतृत्व सम्हालिरहेका एआईजी डा. मनोजकुमार केसीलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ। त्यस्तै, अपराध अनुसन्धान कार्यालयमा कार्यरत एआईजी सुशीलसिंह राठौर काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुख नियुक्त भएका छन्। उपत्यका प्रहरी प्रमुख रहेका एआईजी ईश्वर कार्कीलाई मानवस्रोत विकास विभागमा पठाइएको छ।
यस्तै, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआईजी सिद्धीविक्रम शाहलाई प्रहरी प्रधान कार्यालयको कार्य (अपरेसन) विभागको नेतृत्व दिइएको छ भने मानवस्रोत विकास विभागमा रहेका एआईजी राजन अधिकारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी सुम्पिएको छ।
प्रहरी प्रधान कार्यालयअन्तर्गतका दुई विभागका प्रमुखबीच पनि जिम्मेवारी फेरबदल गरिएको छ। प्रदेश समन्वय विभागका एआईजी डम्बरबहादुर विकलाई प्रशासन विभागमा सरुवा गरिएको छ भने प्रशासन विभागका एआईजी हिमालय श्रेष्ठलाई प्रदेश समन्वय विभागको नेतृत्वमा पठाइएको छ।
सरकारले बुधबार मात्रै दुर्गा सिंह र भरतबहादुर बोहरालाई डीआईजीबाट एआईजीमा बढुवा गरेको थियो। त्यसलगत्तै गरिएको यो सरुवालाई प्रहरी संगठनभित्र नेतृत्व व्यवस्थापन र कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ।
गृह मन्त्रालयले पछिल्लो समय अनुसन्धान प्रणाली सुदृढ गर्ने, संगठित अपराध, आर्थिक अपराध तथा साइबर अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरी संगठनको कार्यक्षमता अभिवृद्धिमा जोड दिँदै आएको छ। सोही रणनीतिअनुसार सीआईबीसहित प्रमुख अनुसन्धान तथा परिचालन निकायमा अनुभवी नेतृत्व खटाइएको सुरक्षा अधिकारीहरूको भनाइ छ।










Facebook Comments