काठमाडौं– हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानमा लागू हुने फ्यूल सरचार्ज पुनः समायोजन गरेको छ। संशोधित दर बुधबारदेखि लागू भएको प्राधिकरणले जनाएको छ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएपछि त्यसको प्रभाव यात्रु भाडामा पनि परेको हो। नयाँ व्यवस्थाअनुसार विभिन्न गन्तव्यका उडानमा फ्यूल सरचार्ज घटाइएकाले यात्रुले अब अघिल्लोभन्दा कम भाडा तिर्नुपर्नेछ।

ad

प्राधिकरणका अनुसार नयाँ दरअनुसार अधिकतम २ हजार ३३५ रुपैयाँसम्म फ्यूल सरचार्ज घटाइएको छ। नेपालगन्ज–भद्रपुर, काठमाडौं–धनगढी, काठमाडौं–सुर्खेत तथा काठमाडौं–माउन्टेन फ्लाइटलगायत विभिन्न रुटमा भाडादर समायोजन गरिएको छ।

प्राधिकरणले तोकेको अधिकतम फ्यूल सरचार्जभन्दा बढी रकम यात्रुसँग लिन कुनै पनि वायुसेवा कम्पनीलाई अनुमति नहुने स्पष्ट गरेको छ।