
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेतृत्वले रणनीतिक राजनीतिक लक्ष्यभन्दा सत्ता र पदकेन्द्रित राजनीतिलाई प्राथमिकता दिँदा संगठन कमजोर बनेको स्वीकार गरेका छन्।
पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रिया र संविधान निर्माणलाई ऐतिहासिक उपलब्धि बताए पनि त्यसपछि पार्टीले दीर्घकालीन राजनीतिक उद्देश्यलाई निरन्तरता दिन नसकेको स्वीकार गरे।
उनका अनुसार शान्ति सम्झौता र संविधान निर्माण आफैंमा गल्ती नभए पनि त्यसपछिको राजनीतिक यात्रामा नेतृत्व रणनीतिक दिशाबाट विचलित भयो। "हामीले कार्यनीतिलाई नै रणनीति ठान्यौं। चुनाव जित्ने, सरकार बनाउने, मन्त्री र प्रधानमन्त्री बन्नेमै हाम्रो ध्यान केन्द्रित भयो," उनले भने।
प्रचण्डले संविधान जारी भएपछि पार्टीभित्र जनमुखी राजनीतिक संस्कृतिभन्दा पद, शक्ति र सुविधाको प्रतिस्पर्धा बढ्दै गएको बताए। विगतमा जनताको अधिकारका लागि संघर्ष गर्ने नेतृत्व पछि व्यक्तिगत स्वार्थ र अवसरको खोजीमा केन्द्रित भएको उनको स्वीकारोक्ति थियो।
उनले नेतृत्वकै व्यवहारका कारण कार्यकर्तामा पनि त्यही प्रवृत्ति फैलिएको उल्लेख गरे। प्रधानमन्त्री बन्नका लागि विभिन्न समयमा नेपाली कांग्रेस, नेकपा (एमाले) तथा अन्य दलसँग गठबन्धन गर्दै सत्ता समीकरण फेरिरहने अभ्यासले पार्टीको वैचारिक आधार कमजोर बनेको उनको भनाइ थियो।

प्रचण्डले पार्टीभित्र समाजवादी आदर्श क्रमशः कमजोर बन्दै व्यक्तिवाद, अवसरवाद र स्वार्थमुखी सोच हाबी भएको पनि स्वीकार गरे। समाजवादको नारा दिए पनि व्यवहार त्यसअनुसार हुन नसकेको उनले बताए।
उनका अनुसार जनताले कम्युनिस्ट पार्टीबाट वैकल्पिक राजनीतिक संस्कृतिको अपेक्षा गरेका थिए। तर व्यवहारमा पार्टीका नेता–कार्यकर्ता पनि अन्य दलसरह पद, प्रतिष्ठा र आर्थिक स्वार्थमा केन्द्रित भएको छाप जनतामा परेको भन्दै उनले त्यसलाई गम्भीर आत्मसमीक्षाको विषय बताएका छन्।










Facebook Comments