
काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहज अवस्था हटिसकेको जनाएको छ। निगमका अनुसार हाल देशभर मागअनुसार इन्धन पठाइएकाले बिक्री वितरण सामान्य अवस्थामा फर्किएको छ।
निगमका प्रवक्ता मनोज ठाकुरले केही पेट्रोल पम्पमा मौज्दात कम हुँदा उपभोक्ताको भीड बढेको र त्यसैका कारण लाइन देखिएको बताए। उनका अनुसार थानकोट डिपोबाट आवश्यक परिमाणमा इन्धन लोड गरी पम्पहरूमा पठाइसकिएको छ। केही पम्पमा इन्धन पुगिसकेको र बाँकीमा पुर्याउने क्रम जारी रहेकाले अहिले आपूर्तिमा कुनै समस्या नरहेको उनको भनाइ छ।
उपभोक्ताको चाप एक्कासि बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनमा नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित प्रमुख सहरका केही पेट्रोल पम्पको अनुगमन पनि गरेको थियो।
प्रवक्ता ठाकुरका अनुसार काठमाडौं उपत्यकाका पेट्रोल पम्पले बिहीबार मात्रै थानकोट डिपोबाट करिब १३ लाख लिटर पेट्रोल र १३ लाख लिटर डिजेल उठाएका छन्। उपत्यकामा १३० भन्दा बढी पेट्रोल पम्प सञ्चालनमा छन्।
यद्यपि, निगमले आपूर्ति सहज भएको दाबी गरे पनि काठमाडौंका धेरै निजी पेट्रोल पम्पमा अझै सेवा सञ्चालन हुन सकेको छैन। ती पम्पमा इन्धन उपलब्ध नभएको सूचना टाँसिएको छ।
हाल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा सञ्चालित पेट्रोल पम्पबाट मात्रै सहज रूपमा इन्धन वितरण भइरहेको छ। निजी पम्प बन्द रहेकाले सुरक्षा निकायका पम्पमा सवारीसाधनको लामो लाइन देखिएको छ।










Facebook Comments