काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९ जना केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

निर्वाचित सदस्यहरूको समूहगत अवस्थालाई हेर्दा पुराना राजनीतिक दलबाट रास्वपामा आएका नेताहरूको उपस्थिति सबैभन्दा बलियो देखिएको छ। उनीहरूको संख्या ३८ रहेको छ। त्यसपछि रवि लामिछाने निकट मानिने ३४ जना, बालेन शाहसँग जोडिएको समूहका २५ जना तथा विवेकशील साझा पृष्ठभूमिका ३ जना निर्वाचित भएका छन्।

ad

पार्टी विधानअनुसार रास्वपाको केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ। यसमा सभापतिसहित ९९ जना महाधिवेशनबाट निर्वाचित हुने, ५१ जना सभापतिबाट मनोनीत गरिने र सातै प्रदेशका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ।

महाधिवेशनले दुई उपसभापति, एक महामन्त्री तथा तीन सहमहामन्त्री पनि चयन गरेको छ। अन्य पदाधिकारी भने सभापतिले मनोनयनमार्फत नियुक्त गर्ने व्यवस्था रहेको छ।