काठमाडौं। सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई तत्काल रिहा गर्न अस्वीकार गर्दै उनीसँग सम्बन्धित अन्य मुद्दाका मिसिल झिकाउन आदेश दिएको छ।

मंगलबार न्यायाधीश टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले व्यवसायी दीपक भट्ट तथा सुलभ अग्रवालसँग सम्बन्धित मुद्दाका फाइल अदालतमा मगाउने आदेश जारी गरेको हो।

ad

पौडेलकी पत्नी दोमाया पौडेलले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमाथि यसअघि अदालतले कारण देखाऊ आदेश जारी गरेको थियो।

यसैबीच, विशेष अदालतले असार १५ गते सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका लागि पौडेललाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो। यसअघि अदालतले सात दिनको म्याद प्रदान गरेकोमा अनुसन्धानका लागि पुनः तीन दिन म्याद थप गरिएको हो।

सर्वोच्च अदालतले सम्बन्धित मुद्दाका मिसिल अध्ययनपछि रिटमाथि थप सुनुवाइ गर्नेछ।