काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्किने घोषणा गरेकी छन्। मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएपछि उनले पहिलोपटक यस्तो सार्वजनिक अभिव्यक्ति दिएकी हुन्।

७८ वर्षीया हसिना सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि आफ्नो १५ वर्ष लामो शासन समाप्त भएपछि भारतमा आश्रय लिइरहेकी छन्। त्यसयता उनी सार्वजनिक रूपमा विरलै देखिएकी छन्। गत जनवरीमा भने उनले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडियो सन्देशमार्फत आफ्ना धारणा सार्वजनिक गरेकी थिइन्।

ad

भारतीय सञ्चारमाध्यम एनडीटिभीसँगको अन्तर्वार्तामा हसिनाले आफूविरुद्ध आएको मृत्युदण्डको फैसला गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको आरोप लगाइन्। उनले यस्तो फैसलाबाट आफू विचलित नहुने पनि स्पष्ट पारिन्।

‘मेरो राजनीतिक यात्रामा धेरै षड्यन्त्र भए, तर ती सबै पार गर्दै जनताले मलाई पाँचपटक प्रधानमन्त्री बनाएका हुन्। मैले देशको विकासका लागि निरन्तर काम गरेँ,’ उनले भनिन्।

स्वदेश फर्किने योजनाबारे सोधिएको प्रश्नमा हसिनाले सबै चुनौती र अवरोध पार गर्दै यही वर्ष बङ्गलादेश फर्किने दाबी गरिन्।

गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो।

यसबीच, हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगको राजनीतिक गतिविधिलाई पनि बङ्गलादेश सरकारले गैरकानुनी घोषणा गरेको छ।

उता, गत फेब्रुअरीमा सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको विश्लेषण गरिए पनि हसिनाको सुपुर्दगीको विषयमा दुई देशबीच मतभेद कायम छ। बङ्गलादेश सरकारले भारतसँग हसिनालाई जिम्मा लगाउन पटक–पटक आग्रह गर्दै आएको छ।