काठमाडौं । नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको अनुसन्धान प्रतिवेदन उपलब्ध गराउन औपचारिक रूपमा माग गरेका छन्।

सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार आयोगमा निवेदन दर्ता गर्दै लेखकले आन्दोलनसँग सम्बन्धित अनुसन्धान, छानबिन र निर्णय प्रक्रियाका सम्पूर्ण कागजात उपलब्ध गराउन अनुरोध गरेका हुन्।

ad

उनले आयुक्त लीली थापाको संयोजकत्वमा गठन गरिएको अनुसन्धान तथा छानबिन समितिको कार्यादेश, समितिले तयार पारेको प्रतिवेदन, प्रतिवेदनसँग सम्बन्धित श्रव्य–दृश्य र लिखित प्रमाण, सो प्रतिवेदनका आधारमा आयोगले गरेको निर्णय तथा नेपाल सरकारलाई पठाइएको सिफारिससहितको प्रतिवेदनको प्रमाणित तथा विद्युतीय प्रतिलिपि उपलब्ध गराउन माग गरेका छन्।

यसअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि सोही प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोगसँग माग गरिसकेका थिए।

ओलीपछि लेखकले पनि प्रतिवेदन माग गरेसँगै जेनजी आन्दोलनसम्बन्धी आयोगको छानबिन प्रतिवेदन फेरि राजनीतिक चासोको विषय बनेको छ।