
त्यो युग– ऋषिमुनिहरूको आत्मचिन्तनको युग
मानवहितका लागि गरिने उपासना साधना तल्लीन
जति प्रकृतिसँग नजिक हुन सक्यो
मोह र द्रोहबाट त्यति नै टाढा हुन सकिने
त्यसैले प्रकृतिसँग लयबद्धताका लागि
बढेका दाह्री र कपाल वैराग्यका प्रतीक बने
गुरुकुल पद्धतिमा प्रकृतिसँग एकाकार भएका सन्त
तिनले मानव कल्याणको लागि दिने ज्ञान र आत्मभूति
यसै क्रममा आधुनिक युगमा पनि सन्त बने
दाह्री पाल्नुपर्ने एउटा रीतिथिति नै बस्यो
ड्रेस कोडजस्तो
कपाल मिलाएर दाह्री–जुँगा
पाल्नेमा परिवर्तित
प्रकृतिसँगको एकाकार मिथक बने पनि
अहिलेको सन्दर्भबाट यो युगलाई हेर्दा
दाह्रीको पनि आफ्नो अस्तित्व छ
घनीभूत हुन चाहन्छ
सफाचट गर्दैमा चुपचाप लागेर बस्दैन
ऊ फेरि शून्यबाट उठ्छ
जतिसुकै सफाचट गरे पनि क्रमशः उठिरहन्छ
मिथकीय सिसिफसजस्तो
सिसिफसको श्रम निरर्थक भएर के भो त ?
उसको अनवरतको प्रयासले अझै अर्थ खोजिरहेको छ
अस्तित्वसँग कहिले सम्झौता नगरेर
सधैँ अमरत्वको धुनमा लागिपरिरहन्छ
खरानीबाट बहुरेको पौराणिक चराजस्तो
आफ्नो अमरत्व कायम गर्न ।
यो कालखण्डमा पनि आए
मानव कल्याणमा समर्पित सन्तहरू
दाह्री–जुँगालाई उसैको लयमा छोडिदिएर
यस्ता एउटा मात्र नाम लिऊँ रमण महर्षिको
दाह्री–जुँगा सफाचट गरेर पनि विश्व गुरु बनेकाहरूले
वेदान्त र हिन्दु दर्शन विश्व समक्ष पु¥याए
केही नाम लिनुपर्दा पहिलो नाम स्वामी विवेकनन्दको
उनले सन् १८९३मा
सिकागोमा भएको धर्महरूको विश्व संसद्मा
हिन्दु धर्मलाई चिनाउँदा
त्यति बेला जन्मेका बालक पछि बने स्वामी योगानन्द
उनले क्रिया योग पश्चिमलाई सिकाए
दाह्री–जुँगा पालेर धेरैले लुटे
रामरहिम र बापु आशारामले जस्तो
मान्छेको अस्तित्व लुटे, आबरु लुटे
आस्था र विश्वास लुटे
ती बिम्ब बनेर छरिएका छन् जताततै
धुत्र्याइँ र छलीको मात्र होइन
बलात्कारका, व्यभिचारका र अपराधका
जताततै अरू अनुविम्ब बनेका दुष्टता छरेर
नपत्याए यो हेर्न मठ मन्दिर जाऊ, मस्जिद या चर्च जाऊ
अझ नपत्याए त्यो प्रतिवेदन हेर
जसले भन्छ :
अयोध्यामा मात्रै करिब १४०० मठ मन्दिर छन्
जो अधिकांश आपराधिक अड्डामा रूपान्तरित
त्यसैले धेरै कम मठाधीशलाई मात्र नसिप छ प्राकृतिक मृत्युको
दुष्टताको विम्ब हो सर्प, प्रतिविम्ब होइन
मान्छे दुष्टतामा धेरै अगाडि जान सक्छ
सर्पलाई पनि उछिनेर
सृष्टिको एउटै मात्र प्राणी हो सर्प
अभिभावकीय पालनपोषण नपाउने
न नदीजस्तो बहन्छ, न अरू प्राणीजस्तो हिँड्छ
सर्पेनटाइन लोकोमोसनको बलमा जमिनमा सर्सराउँछ
जन्मिनेबित्तिकै एक्लै बाटो लाग्छ
एक्लै बाँच्ने संघर्षको यात्रामा दुष्टताको प्रतीक बन्छ
अहिलेका म मात्रै खाऊँ भन्नेहरूकाको भित्र लुकेको आदर्श
दुष्टता र श्रेष्ठताको मूर्त–अमूर्त प्रतीकहरू जताततै
कतै मेघदूत, कतै स्वर्गदूत बनेका यी चर–अचर
बजरंग बाण सोझिएपछि सातो उडेका यी गफाडी
यसलाई रोक्न क्रमभंग गफको बाढी ल्याउँदै
आफ्नो सुरक्षित आबादीको समाजवादी समय कटनी बहाव
त्यसैले– हो, त्यसैले
कसमा दुष्टता हुन्छ, कसमा करुणा
त्यो छुट्टिँदैन दाह्री पालेको या सफाचट गरेकै भरमा
रेखी बसेको होस् या झुस्स
झ्याप्ले होस् या फुस्रे
परिपक्व होस् या धवल दाह्री–जुँगा
जुनसुकै अवस्थाको नाम लिएर हेर्दा वारिपारि
कतै परिपक्व दाह्री–जुँगा
कतै मात्र धवल जुँगाको गठजोड
दाह्री पालेकालाई परसम्मको विश्वास गर्न जति गाह्रो
सफाचटलाई विश्वास गर्न झन् गाह्रो
तिलचामले या पाकेको जुँगालाई मात्र त
खै ! झन् के भन्ने, कति गाह्रो कति ?










Facebook Comments